अछुत कन्या र गौतम बुद्ध
एकपटक यात्राका क्रममा गौतम बुद्ध राजदरवारमा पुग्दा त्यहाँ केही सैनिकले एउटी बालिकाको पिछा गरिरहेका थिए । ती बालिका निकै डराएकी थिइन् । भाग्दाभाग्दै उनी एउटा कुवाको छेउमा पुगेर रोकिइन्, जहाँ नजिकै बुद्ध र उनका अनुयायी उभिएका थिए ।
बुद्धले बालिकालाई नजिकै बोलाएर भने– नानी, तिमी यो कुवाबाट पानी निकाल र आफू पनि पिऊ र मलाई पनि देऊ न है ! यति समयसम्म सैनिक पनि त्यहीँ पुगे । बुद्धले आफ्नो हातले सैनिकलाई रोकिने संकेत गरे । बुद्धको भनाइ सुनेपछि बालिकाले डराउँदै भनिन्– साधु महाराज, म एक अछुत कन्या हुँ । मैले कुवाबाट पानी निकालेँ भने यहाँको पानी दूषित हुनेछ । बालिकाको भनाइ सुनेपछि बुद्धले फेरि भने– पुत्री, मलाई बेस्सरी तिर्खा लागेको छ, पहिले तिमी पानी निकालेर देऊ न ।
यतिखेरसम्म राजा पनि त्यहीँ पुगे । उनले बुद्धलाई देखेपछि निहुरेर नमन गरे । बुद्धलाई तिर्खा लागेको थाहा पाएपछि उनले सुनको घडामा जल मगाएर अर्पण गरे । तर, बुद्धले सो पानी अस्वीकार गरे र बालिकालाई पुनः कुवाबाट पानी निकालेर आफूलाई दिन अनुरोध गरे । बुद्धको तेस्रो अनुरोधपछि यसपटक बालिकाले केही साहस जुटाइन् र कुवाबाट पानी निकालेर बुद्धलाई दिइन् र आफूले पनि पिइन् ।
पानी पिइसकेपछि बुद्धले बालिकासित उनको डरको कारण सोधे । बालिकाले भनिन्– संयोगले मैले दरबारमा गीत गाउने मौका पाएँ । मेरो गीत सुनेर राजाले आफूले लगाइराखेको माला निकालेर मलाई पुरस्कार दिनुभयो । तर, त्यति नै वेला कसैले म अछुत भएको उहाँलाई बताइदियो । यो थाहा पाएपछि राजाले मलाई जेलमा हाल्ने आदेश दिनुभयो । तर, म कसैगरी सिपाहीबाट जोगिँदै यहाँसम्म पुगेँ ।
बालिकाको भनाइ सुनेपछि बुद्धले राजालाई भने– महाराज त्यति मिठो गीतले तपाईंलाई आनन्दित गराउन सक्ने बालिकालाई तपाईंले अछुत भनेर सजाय दिन खोज्नु बिल्कुलै गलत हो । कुनै मानिसलाई छुत र अछुत भनेर कित्ताकाट गर्ने अधिकार कसैलाई पनि छैन । यो तपाईंले ठीक गर्नुभएन । बुद्धको भनाइ सुनेपछि राजा लज्जित भए ।