हस्तान्तरण नहुँदै उप्किएको रंगशालाको सेन्थेटिक ट्रयाकको छानविन सुरु

मंगलबार, ४ भाद्र २०८१

काठमाडौं –  नेपालगन्ज रङ्गशालामा करिब १० करोडको लागतमा निर्माण भएको सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै उप्किएपछि सो बारेमा राष्ट्रिय खेलकुद परिषदले उपसमिति गठन गरेर छानविन सुरु गरेको छ । ठेकेदार कम्पनीले निर्माण पूरा गरेको एक महिना ननाघ्दै ट्रयाक क्रयाक भएर उप्किएपछि त्यसको छानविन गर्न राष्ट्रिय खेलकुद परिषदले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य लेखबहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरिएको सो छानविन उपसमितिले अध्ययन अनुसन्धान सुरु गरेको जनाएको छ । सो उपसमितिमा राखेपका पूर्वराष्ट्रिय प्रशिक्षक चन्द्र बहादुर गुरुङ्ग र राखेपका इन्जिनियर पूर्णबहादुर सुन्दास सदस्य रहनुभएको छ । राखेपका सदस्य एवम् उपसमितिका संयोजक क्षेत्रीले तीन दिनभित्र अध्ययन अनुसन्धान गरेर प्रतिवेदन पेश गर्न परिषदले खटाएको जनाउँदै सोही बमोजिम गरिने बताउनुभयो ।

सो सेन्थेटिक ट्रयाक निर्माणकै क्रममा विभिन्न कमजोरीहरु देखिएको भए पनि कतैबाट अनुगमन निरीक्षण नहुँदा कमसल निर्माण भएको छानविन उपसमितिमा प्राविधिक सदस्य रहनुभएका राखेपका पूर्वराष्ट्रिय प्रशिक्षक गुरुङ्गले बताउनुभयो । उहाँले थप्नुभयो, ‘‘राखेपका इन्जिनियरहरूकै लापरवाहीले यहाँ धेरै त्रुटि भएका छन् । खेलाडीहरूले पाइला टेक्न नपाउँदै ट्रयाक एण्ड फिल्ड भत्कियो ।’’

यसअघि दशौं राष्ट्रिय खेलकुदका लागि खेलाडीलाई प्रशिक्षण गराउने उद्देश्यले सेन्थेटिक ट्रयाक निरीक्षण गर्ने क्रममा ट्रयाकमा क्रयाक भएको देखिएपछि सो बारेमा राखेपलाई जानकारी गराइएको थियो । निर्माण कार्य सम्पन्न भएको एक बर्षसम्म निर्माण कम्पनीको जिम्मा हुने भएकोले अब निर्माण कम्पनीले छिटोभन्दा छिटो सो ट्रयाकको पुनर्निर्माण गर्नुपर्ने खेलाडीहरुको माग छ ।

सो सेन्थेटिक ट्रयाक निर्माणका लागि सन् २०२३ मा करिब १० करोड लागतमा श्री पन्चकन्या सिन्कोट्स जेभी कुपण्डोलसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार ५ जनवरी २०२४ मा ठेक्का अवधी सकिएको हो । बाँकेमा आठौं राष्ट्रिय खेलकुद सञ्चालनमा आउँदा धेरै खेल पूर्वाधार बनेपनि तिनको राम्रो संरक्षण र प्रयोग नभएपछि अधिकांश खेल पूर्वाधारहरु जीर्ण बनिसकेका छन् ।

करोडौंको लागतमा निर्माण गरिएका खेल पूर्वाधारहरुको नियमित प्रयोग र उचित संरक्षण तथा सम्वर्द्धन नहुँदा धेरै खेल पूर्वाधारहरु जीर्ण हुन थालेकाले नियमित प्रयोग र उचित संरक्षणको व्यवस्था मिलाउनु पर्ने खेलाडीहरुको माग छ ।