कसले दियो त्रिविका पदाधिकारीलाई धम्की ? शिक्षामन्त्रीले सार्वजनिकरुपमै गरिन् सुरक्षा माग

बुधबार, ५ भाद्र २०८१

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका पदाधिकारी असुरक्षित भएको भन्दै शिक्षामन्त्री विद्या भट्टराईले सार्वजकिरुपमै सुरक्षा माग गरेपछि खैलाबैला मच्चिएको छ । त्रिविका उपकुलपति केशरजंग बराल, रेक्टर खड्ग केसी र रजिष्टार केदार रिजाल असुरक्षित भएकाभन्दै शिक्षामन्त्रीले सामाजिक संचालमार्फत गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइन् ।

एउटै क्याबिनेटका मन्त्रीले सार्वजनिकरुपमा सुरक्षा माग गर्नुले प्राज्ञिक क्षेत्रमा त्राससमेत उत्पन्न भएको छ । यसअघि विश्वविद्यालयको तर्फबाट रजिष्टार केदार रिजालले शुक्रवार गृह मन्त्रालयमा पत्र नै लेखेर सुरक्षा माग गरेका थिए । शुक्रवारदेखि विश्वविद्यालयका पदाधिकारी कार्यालयमा गएका छैनन् । यद्यपि उपकुलपति बराल डेंगुका कारण कार्यालयमा नगएको बताइएको छ । उनी बुधवारदेखि विश्वविद्यालय जाने बताइएको छ ।

विश्वविद्यालय पदाधिकारीलाई कसले धम्की दियो ? यसबारे औपचारिक रूपमा कोही बोलेका छैनन् । तर पदाधिकारीहरूले समाजशास्त्र विभागका प्रमुखको नियुक्तिलाई लिएर सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेताहरूले धम्की दिएको बताएका छन् । मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन कुसुम शाक्यले कार्यविधि मिचेर विभागीय प्रमुखमा टीका गौतमको नाम सिफारिस गरेपछि कार्यकारी परिषदले नियुक्तिको निर्णय गरेको छैन । गौतमलाई नियुक्त गर्न नेविसंघका नेताहरूले दबाब दिएको बताइएको छ ।

समाजशास्त्र विभाग प्रमुख युवराज लुइँटेलको कार्यकाल शुक्रवार सकिएको थियो । ज्येष्ठता र वरिष्ठताका आधारमा विभागीय प्रमुख नियुक्त हुने व्यवस्था कार्यविधिमा रहेको र सो अनुसार पासाङ शेर्पाको नियुक्ति हुनुपर्ने विश्वविद्यालय पदाधिकारीहरूको अडान छ । डिन शाक्यले पहिलो नम्बरमा रहेका पासाङ शेर्पाको साटो दोस्रो वरियतामा रहेका सहप्राध्यापक टीकाराम गौतमको नाम सिफारिस गरेकी छन् । विभागले भने वरिष्ठताका आधारमा एक नम्बरमा सहप्राध्यापक शेर्पा, दुई नम्बरमा गौतम र तेस्रो नम्बरमा मनहरि ढकालको नाम सिफारिस गरेको थियो ।

नेविसंघका नेता योगेन्द्र रावल, विश्वविद्यालयका सभापति श्यामराज ओझा लगायतको नामै लिएर पदाधिकारीलाई धम्की दिएको आरोप छ । शिक्षामन्त्रीले सार्वजनिकरुपमै गृहमन्त्रीसमक्ष सुरक्षा माग गरेकी छन् । तर नेविसंघ नेता रावल भने एक दिन अगाडि पनि गृहमन्त्री लेखकसँगै थिए ।

रावलले उपप्राध्यापक प्रेम चलाउनेले आफूहरुविरुद्ध चार वर्षदेखि चलाइरहेको मुद्दाको भदौ ९ गतेबाट पुनरावेदनमा बहस हुने भएकाले अदालतलाई प्रभावित पार्न विश्वविद्यालयका पदाधिकारी र शिक्षा मन्त्रीले नै नियोजितरुपमा विषयान्तर गरेको आरोप लगाए ।