सर्भर खोलेर हेरेपछि खुल्यो जीबी राईका १० वर्षे काण्ड, रविको नाममा पनि देखियो करोडौं रकम

बिहिबार, ६ भाद्र २०८१

काठमाडौं – सहकारी ठगी प्रकरणमा जोडिएर फरार गितेन्द्रबाबु (जीबी) राईले १० वर्षभन्दा अघिदेखि सहकारीको रकम अपचलन गरेको भेटिएको छ ।२०७६ सालदेखिको विवरण केलाउँदै जाँखा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ रुपैयाँ ठगिएको विवरण भेटिएको थियो । तर, काठमाडौं शंखमुलबाट चार वटा सर्भर बरामद गरेपछि २०७२ सालदेखिको ठगी विवरण पत्ता लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले बताए ।

सर्भर बरामद भएपछि थप १५ करोडको ठगी विवरण पत्ता लागेको खुलेको छ । अहिले ती सर्भर सहित अनुसन्धानका कागजात जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी प्रधान कार्यालय नक्साल पठाएको छ । सहकारी ठगी प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन भएपछि प्रहरी प्रधान कार्यालयले कास्की प्रहरीसँग कागजात मागेको थियो । ती कागजात सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले समेत अध्ययन गरिसकेको छ । जसअनुसार सर्भर बरामद भएपछि ठगीको बिगो बढेर १ अर्ब ५० करोड ९० लाख ३० हजार ५ सय ३ रुपैयाँ पुगेको भेटिएको छ ।

‘सर्भर बरामद हुनुभन्दा पहिलाको वित्तीय विवरण गोलमोटल रूपमा आएको देखिन्छ । तर, सर्भर बरामद भएपछि सहकारीबाट के–कति रकम के–कुन माध्यमबाट बाहिरियो र यसको जिम्मेवार को हुनुपर्छ भन्नेसम्म खुलेको देखिन्छ,’ समितिका एक सदस्यले भने, ‘जसका कारण बिगोको हकमा मागदाबी लिन सहज देखिन्छ ।’

प्रहरीका अनुसार यी सबै सर्भर पहिले सम्बन्धित सहकारीकै कार्यालयमा थिए । तर, प्रहरीले सहकारीविरुद्ध अनुसन्धान अघि बढाएपछि बरामद हुने डरले पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीको घरमा लगेर लुकाएको खुलेको थियो । सहकारीको सम्पूर्ण कारोबार भएको सर्भर नै फाल्दा वा डिस्पोज गर्दा कर्जा दिएको तथा उठाउन बाँकी रकमको कारोबार समेत नष्ट हुने र रकम उठाउन नसकिने भएपछि उक्त सर्भर डिस्पोज नगरी लुकाइएको खुलेको थियो।

कुनै समय सहकारी ठगीका मुख्य नाइके जीबीका साझेदार थिए पूर्वडीआईजी जोशी । उनीहरू दुवैको साझेदारीमा ग्यालेक्सी फोरके टेलिभिजन समेत सञ्चालनमा आएको थियो । उनै जोशीको घरमा रहेको नेचर हबको कार्यालयमा सहकारीको सर्भर लुकाइएको थियो । संसदीय छानबिन समितिले जोशीसँग समेत सोधपुछ गर्ने तयारी गरेको छ ।

बरामद सर्भरबाट सूर्यदर्शन सहकारीमात्र नभई थप ६ सहकारीको ठगी धन्दा खुलेको छ । सूर्यदर्शन साथै बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौं महाराजगञ्जको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पर्साको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्पूर्ण कारोबार चार वटा सर्भरमा भेटिएको छ । ६ वटा सहकारीका डेटा फेला परेकाले कास्की प्रहरीले सम्बन्धित प्रहरी कार्यालयमा बुझाएको थियो ।

बुटलवको सुप्रिम सहकारी पीडितले प्रहरीमा जाहेरी दिए पनि ठगीको यकिन विवरण प्रहरीले पत्ता लगाउन सकिरहेको थिएन । तर, सर्भर बरामद भएपछि नै सुप्रिमले ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ ठगी गरेको भेटिएको थियो । सर्भरमै भेटिएको तथ्यांकका आधारमा रुपन्देही प्रहरीले १ हजार ८ सय ३१ बचतकर्ता ठगिएको भन्दै २८ जनालाई प्रतिवादी बनाउँदै ३ वैशाख २०८१ मा मुद्दा दायर गरेको थियो । सोही सर्भरमा रवि लामिछानेको नाममा २ करोड रुपैयाँ कर्जा गएको भेटिएको प्रहरी स्रोतले जानकारी दियो ।

‘सर्भर बरामद नहुँदासम्म यो सहकारीमा लामिछानेको नाम जोडिएको देखिएन । जब सर्भर बरामद भयो त्यसपछि उनको नाममा समेत कर्जा गएको भेटिएको हो,’ उच्च प्रहरी स्रोतले भन्यो । लामिछानेको नाममा २ करोडको कर्जा गएको देखिए पनि उनलाई प्रतिवादी बनाइएको थिएन । त्यतिबेला उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए ।

रविकै नाममा व्यापार कर्जा स्वीकृत गरेर रकम लगेको सर्भरमार्फत भेटिएको थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचरमार्फत जम्मा गरेको उक्त सर्भरको तथ्यांकबाट खुलेको थियो ।रवि यो सहकारीको सदस्यसमेत थिएनन् । ऋण भौचर सदर गर्ने सागर केसी र रकम जम्मा गर्ने रोशनी गुरुङको नाम उल्लेख छ ।

त्यसैगरी सूर्यदर्शन सहकारीबाट रविको नाममा १ करोड कर्जा दिएको यसअघि नै खुलेको थियो । चार वटा सर्भरमा ६ वटा सहकारी कारोबार विवरण भेटिए पनि सूर्यदर्शन र सुप्रिम सहकारीको मात्रै मुद्दा दर्ता भएकाले अन्य सहकारीको विवरण भने प्रहरीले गोप्य राखेको छ । ‘मुद्दा दर्ता नभएका अन्य विवरणमा अहिले कुरा गर्नु राम्रो होइन । तर, सर्भरबाट ६ वटा सहकारीको करिब १० अर्बको कारोबार भेटिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘यसबारे आईटी र सहकारी विज्ञको सहयोगमा थप अनुसन्धान पनि जारी छ ।’

यसरी खुल्यो सर्भरको रहस्य

सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिले पूरक अनुसन्धान गरी पाउँ भन्दै १६ माघ २०८० मा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए । त्यसपछि सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेर पुर्पक्षमा कारागार चलान भएका व्यक्तिमाथि थप सोधपुछ प्रक्रिया प्रहरीले अघि बढाएको थियो ।

सोही क्रममा कास्की कारागारमा थुनामा रहेका भविश्वर अर्यालयमाथि थप अनुसन्धान गर्ने क्रममा सर्भरको रहस्य खुलेको पाइएको छ । सहकारीका आईटी प्रमुख समेत रहेका अर्यालले प्रहरी अनुसन्धान क्रममा चार वटा सर्भर काठमाडौं शंखमुलस्थित पूर्वडीआईजी जोशीले भाडामा दिएको घरमा रहेको भन्ने सूचना कास्की प्रहरीलाई दिएका थिए ।

उक्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको समेत सहयोगमा २४ माघको राति छापा हानेपछि प्रहरीले चार वटा सर्भर बरामद गरेको थियो । शंखमुलस्थित नेचर हब्र्स इन्टरनेसनल प्रालिको अफिसबाट चार वटा सर्भर बरामद भए पनि कुन सर्भर कुन सहकारीको हो भन्ने यकिन भएको थियो । आईटी प्रमुखको समेत रहेका उनै अर्यालयको सहयोगमा प्रहरीले सर्भरको कारोबार साथै अन्य पाँच सहकारीको विवरण समेत भेट्टाएको थियो ।

सर्भर बरामद भएपछि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को आर्थिक अपराध हेर्ने पिलरमा कार्यरत रहेर सहकारीकै अनुसन्धान गर्दै आएका इन्स्पेक्टर सहित दुई जनालाई पोखरा पठाएर अनुसन्धान अघि बढाइएको थियो । उक्त सर्भरका डेटा अहिले संसदीय छानबिन समितिले अध्ययन गरिरहेको छ ।

पूर्वसचिव पक्राउ, १३ अझै फरार

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ३२ साउनमा काठमाडौं दक्षिणकालीबाट ४८ वर्षीय अनुज नकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । उनी सूर्यदर्शनका पूर्वसचिव समेत हुन् । पक्राउ परेका नकर्मीलाई कास्की अदालतमा उस्थित गराइएको छ । उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि साधारण तारेख तथा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान हुने भन्ने आदेश आउने छ ।

नकर्मी पक्राउ परे पनि यो प्रकरणमा १३ जना अझै फरार छन् । फरार हुनेमा सहकारीका पूर्वअध्यक्ष जीबीसँगै उनका दाजु भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, मनोज नकर्मी, सुरज श्रेष्ठ, कविता तामाङ, आइस्मा गुरुङ, ललिता तामाङ, सागर केसी, दिनेश रोका, लेखा अधिकृत सृष्टि मानन्धर र कर्जा अधिकृत बुद्धि गुरुङ छन् ।

फरारमध्ये जीबी, उनका दाजु भूपेन्द्र र थानबहादुर विरुद्ध ‘रेड नोटिस’ समेत जारी भएको छ । तर, अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकोमा पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल, सहकारी कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी मगर र सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन् ।