दुई महामन्त्रीको फलामे अडानले देउवामाथि संकट नै संकट, दुई समुहको पेलानले सिथिल
काठमाडौँ – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्व प्रकाशको अडानले देउवा संकट नै संकटमा फसेका छन् । सभापति शेरबहादुर देउवाले बोलाएको छलफल निष्कर्षविहीन बनेको छ। केन्द्रीय समितिमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउन सभापति देउवाले उनीहरुसँग पटकपटक छलफल गरेर समाधान गर्न खोज्दापनि आफ्नो अडान नछोडेपछि देउवा संकटमा परेका हुन् ।
बैठकमा कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माको एक्जिट पोलिसि र महामन्त्री गगन थापाको चुनाव अघि गठबन्धन गर्न नहुने र कांग्रेसलाई रूखमा भोट हाल्ने निर्णय हुनुपर्ने प्रतिवेदन विवादमा परेको थियो । सोही बिषयमा सहमति जुटाउन देउवाले आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका थिए ।
छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि सहभागी थिए । प्रस्तावमाथि सहमति नजुटेपछि पर्सि बिहान ९ बजे पुनः बस्ने गरी छलफल सकिएको उपसभापति धनराज गुरुङले जानकारी दिए । सहमति जुटाउन भन्दै पटक पटक बैठक स्थगन गरेर कांग्रेसमा सभापति देउवाले प्रतिवेदन परिमार्जन गराउन चाहेका छन् । संस्थापन पक्ष कुनै पनि हालतमा परिमार्जन गराउन चाहन्छ भने इतर समूहले प्रतिवेदन पारित हुनुपर्ने अडान कायमै राखेको छ ।