नेपालमा लगानीका लागि सम्भावना नै सम्भावना छ: अध्यक्ष ढकाल

शुक्रबार, १४ भाद्र २०८१

काठमाडौँ –  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उनले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश रहेको बताएका हुन् । उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको बताए ।

अध्यक्ष ढकालले नेपालमा केही पनि सम्भावना नभएको भए आफू जस्तो सामान्य व्यक्ति उद्योग वाणिज्य महासङ्घको नेतृत्वसम्म नआइपुग्ने जिकिर गरे । उनले अहिले नेपाल बाहिर रहेका नेपालीहरूले नेपालमा कुनै अवसर नरहेको, सबै नराम्रो रहेको भन्ने सोचलाई मात्रै बढी प्रश्रय दिइरहेको बताए । उनले आम नागरिकहरूलाई विश्वासमा लिएर अघि बढ्नसके नेपालमा प्रचुर सम्भावना रहेको बताए ।

‘‘नेपालमा जता हेर्‍यो त्यतै अवसर छ । जहाँ हेर्‍यो हो त्यहीँ छ । कोरोनाका कारण जुन सङ्कुचन आयो, यही बिचमा उद्योग वाणिज्य महासङ्घको जिम्मेवारी सम्हालेको हो । हरेक ठाउँमा निराशा थियो, आम नागरिकलाई विश्वासमा लिन जरुरी छ । यसबिचमा यसको लागि हामीले करिब डेढ वर्ष भयो, यो बिचमा त्यो आत्मविश्वास दिलाउन निजी क्षेत्रको तर्फबाट पहल गरेका छौँ ।’’उनले भने ।

अध्यक्ष ढकालले लगानीको वातावरण नै छैन, कानुनहरू नै ठिक छैन मात्रै भन्ने र संशोधनतिर नजाने हो भने कहिले पनि राम्रो वातावरण बनाउन नसकिने उल्लेख गरे ।