एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो लिलाम पोर्टल
काठमाडौँ – एनआईसी एशिया बैंकले लिलाम विक्री पोर्टल सार्वजनिक गरेको छ। लिलाम विक्री सम्बन्धी विस्तृत जानकारी एकै ठाउँबाट उपलब्ध गराउने उद्धेश्यले बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम विक्री गर्ने सम्बन्धी अनलाईन पोर्टल सार्वजनिक गरेको हो ।
बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम विक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ । जसमा ग्राहक महानुभावहरूको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल (https://auctionassistance.nicasiabank.com) भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ ।
यसरी ग्राहक महानुभावहरूले लिलाम विक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको सहायक प्रमुख कार्यकारी अधिकृततथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा अब नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम विक्रीमा रहेको सम्पत्ति लिलाम विक्री सम्बन्धी सूचनाहरू प्रकाशित गरिने हुँदा इच्छुक ग्राहक महानुभावहरूले अनलाईन पोर्टलको लिंक (https://auctionassistance.nicasiabank.com) बाटै विस्तृत विवरणहरू लिन सक्ने भई लाभदायी हुने बैंकले विश्वास लिएको छ ।
