किरिया बस्न गएका ६५ वर्षे वृद्धले आफ्नै साथीको ज्यान लिएपछि…
नुवाकोट – साथीको हत्या आरोपमा नुवाकोटको विदुर नगरपालिका–७ का ६५ वर्षीय लालबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोटको म्यागङ गाउँपालिका–३, गोगनेका ६५ वर्षीय चमार तामाङको हत्या गरेको आरोपमा प्रहरीले शनिबार दिउसो पक्राउ गरेको हो ।
आफ्नै साथी मारेको अभियागमा लालबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
उनका अनुसार शनिबार छिमेकीको घेवा (किरिया)बाट फर्कने क्रममा भएको सामान्य विवादमा लालबहादुरले प्रहार गरेको ढुंगा लागेर चमार तामाङको घटनास्थलमा मृत्यु भएको थियो ।
घटनाको सम्बन्धमा स्थलगत मुचुल्का, आरोपितबाट घटनामा संलग्न रहेको स्वीकारसहितको प्रमाणका आधारमा लालबहादुरलाई पक्राउ गरी कारबाही थालेको प्रहरीले जनाएको छ।