राष्ट्र बैंकले डेढ अर्ब मुद्दती निक्षेपमा राख्दै, प्रस्ताव गर्ने म्याद २६ गतेसम्म

सोमबार, २४ भाद्र २०८१

काठमाडौँ — नेपाल राष्ट्र बैंकले १ अर्ब ५० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । जसअनुसार १ अर्ब २० करोड रुपैयाँ वाणिज्य बैंकमा, २२ करोड ५० लाख रुपैयाँ विकास बैंकमा र ७ करोड ५० लाख रुपैयाँ फाइसान्स कम्पनीमा राख्नका लागि सूचना जारी गरेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले यही भदौ २६ गते बुधबारसम्म आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ । यसरी राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरु भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ ।

जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजीकोष अनुपात कायम रहेको, खराब कर्जा कुल सापटीको ५ प्रतिशत भन्दा कम रहेको, कर्जा निक्षेप सीडी अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्नेलगायत छन् ।