गठबन्धन दलहरुबिच दुरी बढ्दै गएपछि ओलीले अपर्झट गरे संयुक्त छलफल
काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का बीचमा दूरी बढ्दै गइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अपर्झट सत्तासाझेदार दलहरुको संयुक्त बैठक गरेका छन् । सरकार गठन भएको दुई महिनासम्म पनि सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्ने ब्यापक टिप्पणी हुनथालेपछि ओलीले बैठक बोलाएका हुन्। छलफल पछि बल्ल न्यूनतम साझा कार्यक्रम ल्याउन सबै दल सहमत भएका छन् ।
कांगे्रसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको साझा कार्यक्रम ल्याउने दलगत छलफल गरेका छन् । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका ओलीले सोमबार सरकारमा सहभागी अरू दलका नेताहरूसँगसमेत छलफल गरेका छन् ।
ओली नेतृत्वको सरकारसँग संसद्मा अनेक प्रश्न उठाउँदै आएका कांग्रेस सांसदहरूका ’दयगतमा समेत बैठकमा छलफल भयो । विभिन्न काण्ड, भ्रष्टाचार, कुशासनका ’दयगतमा कांग्रेसकै सांसदहरूले संसद्मा प्रश्न उठाउन थालेपछि बैठकमा प्रधानमन्त्री ओलीले गठबन्धनको हितविपरीत आफूले अभिव्यक्ति नदिने र अरू नेताहरूले समेत दिन नहुने बताए ।
प्रधानमन्त्री ओलीले विशिष्ट परिस्थितिमा दुई ठूला दलसहितको सरकार बनेको स्मरण गराउँदै गठबन्धनको मर्म र भावनाविपरीत कसैले पनि अभिव्यक्ति दिन नहुने र आफूले पनि नदिने बैठकमा बताए । यस्तै, बैठकमा गठबन्धनलाई एकताबद्ध बनाउने’दयगत छलफल भएको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले बताए । उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले गठबन्धनको भावनाविपरीत कोही कसैले नबोल्ने बताएका छन् ।
सरकार गठनअघि कांग्रेस र एमालेका बीचमा सातबुँदे सहमति भएको थियो । त्यस सहमतिकै आधारमा सरकार अगाडि बढिरहेका बेला दुवै दलका नेताहरूले साझा न्यूनतम कार्यक्रम ल्याउन चासो राखेका थिएनन् ।
ओली नेतृत्वको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा)समेत सहभागी छन् ।