उपसभामुखलाई महाभियोग लगाउन सहमति गरेको भोलिपल्टै देउवामाथि आइलाग्यो संकट
काठमाडौं – उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग सहमति गरेको भोलिपल्टै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवामाथि संकट आइलागेको छ। बुधबार देउवा निवास बुढानिलकन्ठमा भएको पदाधिकारी बैठकमा पार्टी भित्रै मत विभाजन विभाजन भएपछि देउवा संकटमा परेका हुन् ।
खासगरी शेखर कोइराला समूहका नेताहरुले अहिले यो विषय किन उछालिएको भनेर प्रश्न उठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा पार्टी सभापति शेरबहादुर देउवाले उपसभामुख रानालाई हटाउनको लागि पार्टीभित्र राय लिन बोलाएको बैठकमा यस्तो विरोध उठेको हो ।
शेखर समूहका सांसद राजेन्द्र बजगाईंले त हिजो (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा नै उपसभामुख रानामाथि विषय उठेको यतिका महिनापछि किन महाभियोगको अस्त्र फालियो ? भनेर आलोचना गरेका थिए । उनले त उपसभामुख रानामाथि महाभियोग लगाउन आधार नै नदेखिएको पनि बोलेका छन् ।
यस्तै, नेता अर्जुननरसिंह केसीले पनि उपसभामुखलाई हतारमा हटाउने काम नगर्न र यस विषयमा हात हाल्नुअघि गम्भीरतापूर्वक सौच्न सभापति देउवालाई सुझाव दिएका छन् । शेखर समूहले प्रधानमन्त्री ओली स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको निश्कर्ष निकालेको छ । प्रधानमन्त्री ओलीले भने आफू अमेरिका जानुअघि नै उपसभामुखलाई हटाए संवैधानिक परिषद्मा सत्ता पक्षको बहुमत पुर्याउने रणनीति बनाएका छन् ।