जनतालाई मारमा पार्ने गरी कर नलिने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको भनाई
भदौ ११, काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेतृत्व लिएको स्थानीय तहका जनप्रतिनिधिहरुले नागरिकलाई सास्ती दिने गरी कर नलिएको बताएका छन् । नेपाली कांग्रेसले आज काठमाडौंका आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरुले नागरिकलाई सेवा दिने तर सास्ती नदिने नीतिका साथ कर उठाउने काम सुरु गरिएको स्पष्टिकरण दिएका हुन् ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई न्यून बजेटको व्यवस्था गरिएको भन्दै सरकारको चर्को आलोचना पनि गरे । उनले नागरिकलाई मारमा पार्ने गरी कर नलिएको पनि स्पष्ट पारेका छन् ।
मेयर महर्जनले स्थानीय घरभाडा कर स्थानीय तहले लिने व्यवस्था भए पनि सरकारले गएको वर्षको साउनदेखिको घरभाडा कर स्थानीय तहलाई हस्तान्तरण नगरेको गुनासो गरे । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले नागरिकलाई दुःख दिने गरी कर लिने काम काठमाडौं महानगरपालिकाले नगरेको बताइन । उनले नागरिकलाई सेवा दिएर कर लिने व्यवस्था गर्न आफूहरु केन्द्रीत रहेको स्पष्ट पारिन ।
कांग्रेसबाट निर्वाचित वालिङ नगरपालिकाकी उपमेयर कल्पना तिवारीले नागरिकलाई सास्ती हुने गरी कर नलिने प्रतिवद्धता व्यक्त गरिन् । उनले नागरिकलाई सेवा, सुविधा दिएर कर लिने नीति आफ्नो नगरपालिकाले लिएको पनि पार्टी नेतृत्वलाई जानकारी गराइन् ।
कांग्रेसबाट निर्वाचित रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले स्थानीय सरकार संचालन ऐन अनुसार कर लिइएको दावी गरे । उनले नागरिकले दिएको सुझावको आधारमा कर सम्बन्धी कार्यविधिलाई परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।
प्रशिक्षण कार्यक्रममा कांग्रेस नेताहरुले नागरिकलाई सास्ती दिने गरी कर नलिन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराएका थिए ।