प्रहरीले भन्यो, ‘रविकै कारण जीबी ल्याउन गाह्रो भयो’

बिहिबार, २७ भाद्र २०८१

काठमाडौं – मलेसिया पुगेर फर्किएको प्रहरी टोलीले गृहमन्त्री रमेश लेखकसामु सहकारी ठगी प्रकरणका आरोपी जीबी राईलाई नेपाल ल्याउन नसक्नुको कारण ब्रिफिङ गरेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार, केही दिनअघि भएको ब्रिफिङमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित मलेसिया गएका प्रहरी उपरीक्षक (एसपी) सहितका अधिकारी सहभागी थिए । त्यसक्रममा प्रहरीले राईलाई फिर्ता ल्याउन पूर्वगृहमन्त्री रवि लामिछानेकै कारण समस्या भएको बताएका थिए ।

लामिछानेले उपप्रधान एवं गृहमन्त्री हुँदा मलेसियाका गृहमन्त्री सैफुदिन नासुतिन इस्माइलसँग टेलिफोन कुराकानी गरेका थिए । त्यस क्रममा उनले जीबी राईलाई फिर्ता पठाइदिन आग्रह गरेको मन्त्रालयका अधिकारीहरुले सार्वजनिक गरेका थिए । ‘उहाँहरु बीच के–के कुरा भएको थियो, थाहा भएन’, प्रहरीको भनाइ उदृत गर्दै मन्त्रालय स्रोतले भन्यो, ‘तर, लामिछाने माननीयज्यूले मन्त्री स्तरमा कुरा गरेपछि यो विषय प्रहरीको तहबाट बाहिर पुग्यो भन्ने सन्देश मलेसियाका अधिकारीहरुबाट पाएको नेपाल प्रहरीबाट ब्रिफिङ भएको छ ।’

‘मन्त्री तहसम्म कुरा नगरी तल–तलबाटै कुरा गरेर फिर्ता ल्याउनु पर्थ्यो, तर अघिल्लो मन्त्रीज्यूले सिधै माथि कुरा राखिदिँदा गाह्रो भयो’, प्रहरी स्रोतले भन्यो, ‘अहिले एकदमै बलियो कुटनीतिक र उच्चस्तरीय पहलविना राईलाई फिर्ता ल्याउन कठिन हुने स्थिति बनेको छ ।’ भदौ दोस्रो साता मलेसिया गएको नेपाल प्रहरीको टोलीले क्वाललाम्पुरमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीहरुसँग भेट गरेको थियो । त्यसक्रममा राईलाई फिर्ता ल्याउने प्रक्रियाबारे कुराकानीसमेत भएको थियो ।

प्रहरी अधिकृतहरुले गरेको ब्रिफिङ अनुसार, एनसीबी मलेसियाका अधिकारीहरुले त्यसक्रममा राईको विषय आफूहरुभन्दा माथिल्लो तहमा पुगिसकेको बताएका थिए । ‘मन्त्रीस्तरमा कुरा भइसकेकाले हामीले केही गर्न सक्ने स्थिति छैन’, एनसीबी मलेसियाका अधिकृतहरुलाई उदृत गर्दै स्रोतले भन्यो, ‘त्यही तहबाट मात्रै यो विषय टुंगो लाग्न सक्छ ।’

नेपाल प्रहरीका एक उच्च अधिकृतले पनि राईलाई फिर्ता ल्याउने प्रक्रिया उच्च तहको समन्वयबाट मात्र टुंगो लाग्न सक्ने बताए । ‘मन्त्री तहसम्म कुरा नगरी तल–तलबाटै कुरा गरेर फिर्ता ल्याउनु पथ्र्यो, तर अघिल्लो मन्त्रीज्यूले सिधै माथि कुरा राखिदिँदा गाह्रो भयो’, उनले भने, ‘अहिले एकदमै बलियो कुटनीतिक र उच्चस्तरीय पहलविना राईलाई फिर्ता ल्याउन कठिन हुने स्थिति बनेको छ ।’

पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, वीरगञ्जको सानो पाइला, चितवनको साहारा चितवन र काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीको ठगीमा संलग्न राईविरुद्ध इन्टरपोलमा रेड नोटिस छ । रेड नोटिस जारी हुँदा इन्टरपोलका सदस्य रहेका १९३ मध्ये जुनसुकै देशमा सम्बन्धित व्यक्ति देखिए एनसीबीले नोटिस जारी गर्न सिफारिस गर्ने मुलुकलाई खबर गर्छ । इन्टरपोलको नोटिस कुनै देशका लागि बाध्यकारी भने हुँदैन ।

नेपालमा सर्वसाधारणले बचत गरेको रकम लिएर राई ‘मलेसिया माई सेकेण्ड होम’ सरकारी योजना अनुसार क्वालालम्पुरमा नेचर हर्ब इन्टरनेशनल नामक कम्पनी चलाइरहेका थिए । ‘यो योजना अनुसार विदेशी लगानी लिएर जाँदा उनी त्यहाँ सुरक्षित र ढुक्क भएर बसिरहेका थिए’, एक प्रहरी अधिकृत भन्छन्, ‘राईले क्वाललम्पुरको देशापण्डनमा अपार्टमेन्ट नै खरिद गरेर बसेका थिए ।’

तर, मलेसिया पुगेर फर्किएको टोलीको भनाइमा भने पछिल्लो समय राईले त्यो अपार्टमेन्ट पनि छाडिसकेका छन् । पछिल्लो समय उनी मलेसिया र सिंगापुरको सीमा नजिक एक टापुमा बस्न थालेको सूचना टोलीले ल्याएको छ । ‘पछिल्लो लोकेशन थाहा भयो, तर ल्याउन सक्ने स्थिति नभएकाले त्यहीँ पुगेर थप केही बुझ्ने वा रेकी गर्ने स्थिति भएन’, स्रोतले भन्यो, ‘मलेसियाको प्रहरीले यो विषय अब आफूहरुको हातमा नभएको स्पष्ट पारिसकेको छ ।’