२७ गते दुई कम्पनीको आइपिओ आउँदै, यस्तो छ वित्तिय अबस्था

शुक्रबार, २० बैशाख २०७६

काठमाडौं – बैशाख २७ गते,दुई लघुवित्तले सार्वजनिक निष्काशन (आईपिओ)मा आवेदन खोल्ने भएको छ । जनसेवी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्न लागेका हुन ।

जनसेवी लघुवित्तले जारी पूँजीको ३२.१० प्रतिशत साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको हो । लघुवित्तले प्रतिशेयर एक सय रुपैयाँका दरमा चार करोड ६३ लाख ३० हजार रुपैयाँको चार लाख ६३ हजार ३ सय कित्ता शेयर जारी गर्न लागेको हो ।

यस आईपिओमा न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । तर लघुवित्तको १० कित्ता शेयर नै गोलाप्रथाबाट बाँडफाँड हुने भएकाले आईपिओमा एक हजारको आवेदन नै प्रयाप्त हुने देखिन्छ ।

लघुवित्तले निष्काशन गर्ने कूल चार लाख ६३ हजार ३०० कित्ता शेयरमध्ये २३ हजार १६५ कित्ता सामुहिक लगानीकोषहरुका लागि र ७ हजार १४५ कित्ता कर्मचारीकालागि छुट्टाएर बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणमा निष्काशन हुनेछ । आईपिओ जारी पश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ४३ लाख ३० हजार पुग्नेछ ।

यसैगरि स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पनि बैशाख २७ गते देखि नै जारी पूँजीको ३२.११ प्रतिशत बराबरको एक लाख ९८ हजार ६१० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कूल निष्काशित सर्वसाधारण शेयर (आईपिओ) मध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र ९ हजार ९३० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्टाएको छ । बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणले ओवदन गर्न सक्नेछन् ।

आईपिओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने व्यवस्था छ । हाल ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ निष्काशन पश्चात ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

लघुवित्तहरुको आईपिओ खरिद गर्न इच्छुक लगानीकर्ताले मेरो शेयर तथा लगानीको खाता रहेको सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।

जनसेवी लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल र स्वाभिमान लघुवित्तको सिद्धार्थ क्यापिटल रहेको छ।