संवैधानिक परिषद् बैठक : उपसभामुख हटाउने विषयमा ओलीले के भने ?
काठमाडौं – संवैधानिक परिषद् बैठकमा उपसभामुख हटाउने विषयमा छलफल भएको पाइएको छ । आज बसेको बैठकमा उपसभामुख इन्दिरा रानाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूलाई हटाउन खोजिएको विषयमा गुनासो गरेकी थिइन् ।
जवाफमा ओलीले आफूले हटाउन नचाहेको प्रतिक्रिया दिएका थिए । रानाले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले आफूलाई हटाउने कुरा नभएको भनेर आश्वस्त गराएको दावी गरिन् ।
उनले भनिन्, ‘मैले भनेँ कि मेरो अन्तराष्ट्रिय छवि छ । कयौं बालबालिका हुर्काएको छु । न त त्यो चिठी उता (दूतावास) गएको छ, न त उनीहरु अमेरिका गएका हुन् । वास्तवमा चिठी दर्ता नै भएको छैन । त्यसलाई लिएर यस्तो आयो भन्ने कुरा राखेँ । प्रधानमन्त्रीले तपाईं संवैधानिक परिषदको सदस्य हो । बजारको हल्लाबबारे कुरा नगरौं भन्नु भयो । बजारको कुरा बजारमै छाडौं भन्नुभएको छ ।’
तपाईंको सोच अब के छ त ? भन्ने पत्रकारको जिज्ञसामा उनले जवाफ दिइन्, ‘मेरो के सोच हुनुपर्यो र ? मैले केही गल्ति गरेको भए पो ।’ एमाले र कांग्रेसले उपसभामुख रानालाई महाअभियाग लगाउन लागेको हल्ला चलेको थियो ।