आवश्यकताको प्राथमिकता
एकपटक मनोविज्ञानको कक्षामा एक नयाँ प्राध्यापक प्रवेश गरे । उनको साथमा एउटा सिसाको जार, ससाना आकारका ढुंगा, मसिना चिप्स, केही बालुवा र एउटा जगमा केही पानी थियो । प्राध्यापकले कक्षामा प्रवेश गर्नासाथ विद्यार्थीले अभिवादन गरे । प्राध्यापकले आजको कक्षामा पढाइ नहुने र केही विशेष सिक्ने अवसर प्राप्त हुने बताए । पढाइ नहुने सुन्नासाथ विद्यार्थी दंग परे ।
प्राध्यापकले एउटा टेबलमा आफूले ल्याएका सामग्री राखे । उनी रित्तो जारमा ससाना ढुंगा भर्न थाले । एकैछिनमा जार ढुंगाले भरियो । उनले विद्यार्थीसित प्रश्न गरे— के यो जार भरियो ? सबैले ‘हो’ भन्दै सहमतिमा टाउको हल्लाए । त्यसपछि प्राध्यापकले सोही जारमा चिप्स हाल्न सुरु गरे । चिप्स पनि सजिलै बाटो बनाउँदै भित्र गयो । एकछिनपछि पुनः जार भरियो । प्राध्यापकले पुनः प्रश्न गरे– के जार साँच्चै भरियो त ? विद्यार्थीले पुनः उही उत्तर दिए– हो, जार साँच्चै भरियो ।
त्यसपछि प्राध्यापकले त्यसमा बालुवा हाल्न सुरु गरे । बालुवा पनि आफ्नो बाटो बनाउँदै जारमा प्रवेश ग¥यो । एकैछिनमा पुनः जार भरियो । पुनः पुरानै प्रश्न दोहोरियो । उत्तर पनि पुनः उही आयो ।
विद्यार्थीको जवाफ सुनिसकेपछि प्राध्यापकले पुनः त्यसमा पानी भर्न सुरु गरे । पानी पनि मजाले अट्यो । त्यसपछि प्राध्यापकले विद्यार्थीतिर फर्किँदै भने– हेर्नुस् भाइबहिनी हो १ हामीले जहिल्यै जिन्दगीमा आफ्नो प्राथमिकता निर्धारण गर्नुपर्छ । जिन्दगी पनि एक काँचको जार जस्तै हो । जसमा सबैभन्दा पहिले पत्थर आवश्यक छ । पत्थर भन्नुको अर्थ तपाईंहरूको परिवार, चरित्र र स्वास्थ्य हो । त्यसपछि चिप्स अर्थात् नोकरी, पेसा, व्यवसाय या अन्य आवश्यकता आउँछन् । बालुवा भनेको हाम्रो जीवनको निकै ससाना आवश्यकताको प्रतिनिधि हो ।
त्यसैले, हामीले पहिल्यै जारमा बालुवा भरिदियौँ भने बाँकी वस्तुका लागि स्थान खाली हुँदैन । त्यसैले, जीवनमा जे सबैभन्दा महत्वपूर्ण र आवश्यक छ, पहिले त्यसैमा ध्यान दिनु जरुरी छ ।