रवि लामिछानेको चलाखी देखेर देउवाको सातो गयो, महामन्त्रीसँग यस्तोसम्म भन्न भ्याए

बुधबार, २ असोज २०८१

काठमाडौं – सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको दाबी गरेका छन् । संसदमा आफ्नो पार्टीले लामिछानेमाथि उठाएका प्रश्न अहिले प्रमाणित भएको उनको जिकिर छ ।

यद्यपि संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापतिले सहकारीको रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको देउवाको भनाई छ । तर, समितिको प्रतिवेदनले उक्त कुरा प्रमाणित गरेको भन्दै उनले आफ्ना महामन्त्री गगनकुमार थापालाई समिति बनाउन संसदबाट दबाब दिएकोमा धन्यवाद पनि दिए । रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरु सही भएको देउवाले बताए ।

‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर’, उनले भने, ‘रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर ।’ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवन्ध निर्देशक लामिछानेलाई दोषी ठहर गर्दै कारवाही सिफारिस गरेको छ ।

सहकारीको पैसा गोरखा मिडियामा ल्याउन उनको प्रत्यक्ष संलग्नता नदेखिए पनि प्राप्त रकम परिचालनमा भने मुख्य भूमिका रहेको समितिको निष्कर्ष छ । तर, रास्वपाका नेताहरुले भने सहकारी प्रकरणमा लामिछानेले ‘क्लिनचिट’ पाइसकेको दावी गरिरहेका छन् ।