नेतृत्वमा शक्तिको असीमित चाहना देखियोः शेखर कोइराला

बिहिबार, ३ असोज २०८१

काठमाडौं –  संविधान राम्रो बनाएसँगै त्यसलाई कार्वान्वयन गर्ने पक्ष इमान्दार रहन आवश्यक हुने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्।

बिहीबार संविधान दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य कोइरालाले ३ करोड नेपाली जनतामा समर्पित संविधानको जगबाट मुलुकलाई सम्बृद्धशाली बनाउन सकिनेमा जोड दिएका छन्।

विधिको शासन, जनताप्रति उत्तरदायी शासक र प्रशासक, सुशासन, दण्डहीनताको अन्त्य र पारदर्शितालाई संविधानको मूल मर्म भएको बताउँदै नेता कोइरालाले मुलुक र जनताको भविष्य संविधानको मर्मप्रति समर्पित भएर अघि बढ्दा मात्र सम्भव हुने बताए।

यद्यपि, संविधानतः सबै नागरिक समान रहेको कुरा व्यवहार नदेखिँदा राज्यमाथि जनमानसको भरोसा र विश्वास संकटमा देखिएको उनले बताए। नेतृत्वमा रहनेको शक्तिको असीमित चाहनाले संविधानको मूल मर्म शक्ति पृथकीकरणको सिद्धान्तलाई चोट पुगेको उनको भनाइ छ।

राज्य सञ्चालनका जिम्मेवार निकायमा सक्षम, योग्य र इमान्दार मानिसलाई बाहिर राखेर आफ्नो मान्छे भर्ना गर्ने सामन्तवादी सोचबाट मुक्त हुनु आजको आवश्यक्ता भएको उनले बताएका छन्। संविधानले आम नेपालीलाई राजनीतिक रुपमा मात्र नभएर भावनात्मक रुपमा जोडेको बताएका उनले संविधान नेपालीको साझा दस्तावेजसँगै साझा उपलब्धि र भविष्य भएको उल्लेख गरे।