रवि लामिछाने पक्राउ पर्ने खतरा तत्कालका लागि टर्यो, कारण बने ओली
काठमाडौं – सहकारीको रकम अपचलन गरेको केशमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने खतरा तत्कालका लागि टरेको छ। रबि लामिछानेको मुद्धा राजनतिक भएकाले तत्काल पक्राउ गर्ने कुनै योजना नरहेको प्रहरी स्रोतले बताएपछि रवि पक्राउ पर्ने खतरा तत्कालका लागि टरेको हो।
संसदीय विशेष छानबिन समितिले गोरखा मिडियाका तत्कालीन अध्यक्ष जीवी राई, प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक समिति सदस्य जोशीसहित चार जनालाई कारबाही सिफारिस गरेको थियो । जोशी पक्राउ परेपछि प्रहरीले समितिको सिफारिस कार्यान्वयन सुरु भएको उद्घोष गरेको थियो । आफूले सहकारीबाट पैसा ल्याउने प्रक्रियामा कुनै भूमिका नखेलेको र सहकारीबाट आइसकेको रकम कार्यालयको प्रयोजनमा प्रबन्ध निर्देशकको हैसियतले खर्च मात्र गरेको लामिछानेले बताउँदै आएका छन् ।
संसदीय समितिले अहिले छानबिन गरे पनि जीवी राईले सञ्चालन गरेका सहकारीहरूमाथि पहिल्यै प्रहरी अनुसन्धान भइसकेको थियो । प्रहरीले जिल्ला अदालतमा अभियोग पत्रसमेत दायर गरिसकेको छ । अहिले गृहमन्त्रीको निर्देशनपछि गोरखा मिडियाका सञ्चालकहरूमाथि प्रहरीले फेरि नयाँ अनुसन्धान सुरु गरेको हो । प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको बतायो । यो राजनीतिक मुद्दा भएकाले प्रहरीले माथिकै आदेश पर्खिने स्रोतको भनाइ छ । अहिलेसम्म लामिछानेविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको छैन । लिइहाल्ने सुरसार पनि छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली अहिले अमेरिकामा छन् । प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीले प्रधानमन्त्री फर्किएपछि मात्रै रविका विषयमा निर्णय हुने बताए ।
‘यो राजनीतिक विषय पनि जोडिएको हुँदा प्रधानमन्त्री स्वदेश नफर्कीकन उहाँमाथि केही हुँदैन’, ती अधिकारी भन्छन्, ।
यसैगरी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर पनि अहिले स्वदेशमा छैनन् । इन्टरपोलको बैठकमा भाग लिनका लागि उनी हिजो ग्रिस प्रस्थान गरेका हुन् । उनी असोज १५ गते फर्किने कार्यक्रम छ ।प्रधानमन्त्री र आईजीपी दुवै देशबाहिर रहेको हुँदा पूर्वगृहमन्त्रीविरुद्ध प्रहरीले तत्काल कुनै पनि कदम चाल्ने सम्भावना नरहेको स्रोत बताउँछ ।