सिंहदरबारमा दैनिकजसो बैठक नै बैठक, हरेकदिन उस्तै निर्णय
काठमाडौँ – असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले बाढी पहिरो र डुबानमा झन्डै २ सय जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ताको सूचीमा छन् । विपद्पछिको उद्धार र राहतमा सरकारले चुस्त दुरुस्त ढङ्गले राज्य संयन्त्र परिचालन गर्न नसकेको आलोचना भइरहँदा सिंहदरबारमा भने दैनिक तीन चार वटा बैठक बसेर उस्तै र उही प्रकृतिका निर्णय गर्ने क्रम जारी छ ।
बैठक नै पिच्छे उस्तै र उही प्रकृतिका निर्णय गर्नुले पनि सरकारी संयन्त्रबिचको समन्वयको अभावलाई झल्काएको छ । लगातार बैठक बस्ने र निर्णय गर्ने क्रम जारी रहे पनि बाढी पहिरो र डुबानबाट काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा भएको जनधनको यकिन क्षतिको विवरण सरकारले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । बरु एक सातामा क्षतिको विवरण सङ्कलन गर्ने सरकारी निकायको भनाइ आइरहेको छ ।
सोमबार दिनभर सिंहदरबारमा चार वटा बैठक बस्ने भएका छन् । ती बैठकको प्रधानमन्त्रीदेखि गृहमन्त्री र मुख्यसचिव सम्मले नेतृत्व गर्दैछन् । सोमबार बिहान सिंहदरबारमा पहिलो बैठक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण समितिको बस्यो ।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको उक्त बैठकले बाढी पहिरो लगायतका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने, विपतबाट प्रभावित भएकाहरूलाई आवासको प्रबन्ध गर्ने लगायतका निर्णय गर्यो ।
यसका साथै सहायताका लागि विकास साझेदारहरूलाई अनुरोध गर्ने निर्णय समेत सोही बैठकले गरेको छ । समितिका एक सदस्यका अनुसार संयुक्त राष्ट्रसङ्घ, रेडक्रस लगायत नेपालभित्र क्रियाशील विकास साझेदारहरूले उपलब्ध गराउने कोष परिचालन गर्ने उद्देश्य अनुसार सो निर्णय गरिएको हो ।