अमेरिकाबाट फर्के लगतै बिमानस्थलमा ओलीले दिएको अभिव्यक्तिले मौसम पूर्वानुमानकै उपहास
काठमाडौँ – अमेरिका भ्रमणबाट सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी ओलीले विमानस्थलबाट गरेको टिप्पणीले मौसम पूर्वानुमान प्रणालीकै उपहास भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकार र प्रधानमन्त्री ओलीबीच भएको सवालजबाफमा ओलीले विपद आउँदैछ भनेर सरकारी संयन्त्रले नै ५६ जिल्लामा रेड अलर्ट जारी गरेको थियो, सरकारले पूर्वतयारी किन गरेन भन्ने प्रश्नको जबाफमा उल्टै पत्रकारमाथि नै प्रश्न गर्दै एउटा कुरा तपाईंलाई सोध्न चाहन्छु — रेड अलर्ट भनेर पूर्वानुमान गरेको छ, हो ? तर कहाँ–कहाँ पहिरो जान्छ त भनेको थिएन ! पहिरो गएपछि न थाहा भयो! काठमाडौंमा यति डुबान हुने गरी वर्षा होला भन्ने कल्पना पनि थिएन! भन्ने टिप्पणीले सरकारी संयन्त्रले मौसम पूर्वानुमान प्रणालीको नै उपहास भएको हो।
यद्यपि मंगलबारको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिलाई सच्याउन भने खोजे। उनले सरकारको पूर्वतयारी नभएको पनि स्वीकार गरे।
‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन। यस प्रकारको वर्षा होला, यस प्रकारको पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन, ‘उनले भने, ‘पहिला यस प्रकारभन्दा कमै हुने गर्थे, त्यसैअनुसार पूर्व तयारी थियो। ठूलै विपत्ति आइलाग्यो।’