डुकुमानका दुःख : छिमेकीको उद्धारमा गएका थिए, उनकै सिंगो परिवार पहिरोले पुर्यो
काठमाडौं – ललितपुरको महांकाल गाउँपालिका वडा नम्बर २ मानिखेल बेँसीका बासिन्दा डुकुमान स्याङ्तानले सिंगो परिवार गुमाएका छन् । आफ्नो घरभन्दा पचास मिटर तल रहेका ७ घरमा बाढी पस्न थाल्यो पछि सुतिरहेका श्रीमती, दुई छोरा र छोरीलाई छोडेर डुकुमान छिमेकीहरूको उद्धार गर्न गएका थिए ।
ती घरका मानिसलाई सुरक्षित स्थानमा ल्याइसकेपछि डुकुमानले आफ्नै घर माथिबाट झरेको पहिरोले सिंगो परिवार गुमाएका हुन् । पहिरोमा परि डुकुमानकी श्रीमती राममाया स्याङतान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र ९ वर्षकी छोरी सलिनाको मृत्यु भएको छ ।
पहिरो गएको तीन दिनपछि श्रीमतीसहित दुई छोरा र एक छोरी एकैठाउँमा पुरिएको अवस्थामा फेला परेको महांकाल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष जोनीकुमार न्यासुरले जानकारी दिए। ‘भर्याङमुनि चारैजना एकैठाउँमा थिचिएको अवस्थामा भेटियो,’ न्यासुरले भने, ‘राममायाले उद्धार माग्दै हात उठाएको देखिन्छ।’
माटो र ढुङ्गाले बनेको घरको चोटामा उनीहरू बस्थे। भान्सा तल थियो। ‘जब माथिबाट पहिरो आयो, भाग्दै गर्दा भर्याङमुनि पुगेपछि एकैपटक थिचेको हुनसक्छ, समयमै घर उत्खनन् गर्न पाएको भए बाँच्थे कि जस्तो लाग्छ,’ न्यासुरले थपे।
परिवारका ५ मध्ये अब डुकुमान एक्लै जीवित छन्। उनका बुबा, आमा, दाइको पहिल्यै मृत्यु भइसकेको छ। उनी तीन वर्ष वैदेशिक रोजगारमा बसेर पाँच महिनाअघि मात्र फर्केका थिए।
नेपाल फर्केपछि उनी ज्यालादारी गर्थे। वडाले केही योजनाहरूमा उनलाई काम लगाएको थियो। श्रीमती राममायाले खेती किसानी गर्थिन्। तरकारी लगाएकी थिइन्। केही चौपाया पालेका पनि थिए।