प्रदर्शनको मुखैमा मुन्द्रेको फिल्म ‘ज्वाइँ साब’ लाई झड्का

बिहिबार, १७ असोज २०८१

काठमाडौँ – असोज २४ गतेबाट रिलिज हुने ‘ज्वाइँ साब’ को प्रदर्शन रोक्न उजुरी परेको छ। नरेन्द्रबहादुर नेम्वाङले ‘ज्वाइँ साब’ सहित ‘देववानी’ को प्रदर्शन रोक्न नेपाल चलचित्र निर्माता संघमा उजुरी दिएका हुन्।

आफूसँग १० लाख रुपैयाँ ठगी गरेर ती चलचित्रमा लगानी गरिएको नेम्वाङको दाबी छ।उनले मौसम फिल्मस् प्रालिका तर्फबाट चलचित्र ‘निलकाँडा’ मा आफूले पनि अभिनय गर्ने र मुनाफाको आधा पाउने सर्तमा पटक–पटक गरी १० लाख रुपैयाँ दिएको उजुरीपत्रमा उल्लेख छ।

पछि आफूलाई बेग्लै ३५ लाखको चेक दिइएको तर, उक्त चेक बाउन्स भएको समेत उनले खुलाएका छन्। आफूले पहिले दिएको १० लाख रुपैयाँ अहिले दुईवटा चलचित्रमा लगानी गरिएको भन्दै उनले प्रदर्शन रोक्न माग गरेका हुन्।

वसन्त निरौला निर्देशित फिल्मका निर्माता मिनादेवी खड्का, पदमलाल तामाङ र सौगात पण्डित हुन्। फिल्ममा जितु नेपालसहित नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ। जितु नेपाल (मुन्द्रे) ले भने आफूलाई यो बारेमा खासै थाहा नभएको बताए।