माझी गाउँले यो पटक पनि राखेन जमरा, अनिष्टको डर

शुक्रबार, १८ असोज २०८१

बागलुङ – हिन्दूहरूको महान् पर्व बडादशैंको पहिलो दिन घरघरमा जमरा राखी घटस्थापना गरिएको छ । तर बागलुङका सीमान्तकृत माझी समुदायले भने वर्षौँदेखि घटस्थापनाविना नै दशैं मनाउने अनौठो परम्परालाई निरन्तरता दिएका छन् । उनीहरूले अनिष्टको भयले जमरा नराखी दशैं मनाउँदै आएका छन् ।

देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छर्ने र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन रहिआएको भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने वर्षौंदेखि जमराबिना नै दशैं मनाउने गरेको छन् ।

खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ । ‘जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको भन्ने सुनेको हो, जमारा नराख्ने परम्पराले आगमी दिनमा समेत निरन्तरता पाउँछ,’ कृष्ण माझीले भने, ‘जमरा नराखे पनि दशैंलाई राम्रै तरिकाले मनाउन थालिएको छ, जमरा घरमा राख्दा हुने अनिष्ट हटेर गएको भन्ने पुर्खाहरूले बताएका थिए ।’

स्थानीय देउकुमारी माझीले भनिन्, ‘जमरा राख्दा अनिष्ट भएको, छोरीचेलीको मृत्यु भएर दशैं रोकिएको भनेर जमरा राख्न छाडिएको हो रे, हामीहरूले पनि पुर्खाको कुरा मान्दै आएका छौँ’ ।

उनले भनिन्, ‘घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको बाबुबाजेहरूले बताउँदै आएको र हामीले त्यही सुन्दै आएको हो, दशैंको दिन कालिका मन्दिरमा छरेका जमरा मागेर टीकासँग लगाउन थालिएको छ, यहाँका १७ माझी परिवार कसैले पनि जमरा राख्दैनन् ।’ जमरा छर्न छाडेपछि कन्याहरूको मृत्यु हुन छाडेर अनिष्ट रोकिएको उनको भनाइ छ ।

दशैंको दिन टीका जमरा लगाए पनि बागलुङ बजारबाट मागेर अथवा नजिकैको कालिका मन्दिरमा रहेका जमरा ल्याएर लगाउने चलन छ । घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ । माझी समुदायले आफ्नो परम्पराका रूपमा वर्षौँदेखि यसलाई लिँदै आएका छन् ।

दशैं मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायले लिँदै आएका छन् । माझीहरूले दशैंमा जमरा लगाउन हुने भए पनि राख्न नहुने मान्यता स्थापित भइसकेको छ । पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ नगरपालिका–१ रामरेखाका माझी समुदायले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन् ।