यस कारण भैरहेको छ चितवनमा रवि लामिछानेको विरोध

आइतबार, २० असोज २०८१

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेविरुद्ध उनकै निर्वाचन क्षेत्रमा चर्को विरोध भइरहेको छ । शुक्रवार सार्वजनिक सुनुवाइ कार्यक्रम सकेर फर्किनै लाग्दा मुग्लिन बजारमा सहकारी पीडितहरुले उनीविरुद्ध नारावाजी गरेका थिए भने शनिवार दिउँसो नारायणी कला मन्दिरको कार्यक्रममा सहकारी पीडितहरुले लामिछानेको कार्यक्रममा ढुङ्गामुडा गरे ।

उनीहरु भरतपुरको चौबिसकोठीबाट ब्यानरसहित लायन्सचोक पुग्दा प्रहरीले रोक्यो । प्रहरीले रोके पनि उनीहरु विभिन्न बाटा हुँदै नारायणी कला मन्दिरमा पुगेरै छाडे । उनीहरु गेटबाट भित्र पस्न खोज्दा फेरि प्रहरीले रोक्यो । केहीबेर धकेलाधकेल पनि भयो । सहकारी पीडितलाई सहयोग गर्न आएको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले निकटका केही युवाहरु पनि कला मन्दिरको गेटमा थिए ।

सहकारी पीडित र युवाहरु कार्यक्रमस्थलमा प्रवेश गर्न खोज्दा गेटभित्रबाट ढुंगा प्रहार भयो । त्यसपछि गेट बाहिर रहेकाले पनि ढुंगा फर्काए । दुवैतिरबाट ढुंगा हानाहान भएपछि जिल्लाका विभिन्न युनिटबाट ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले लाठीचार्ज गरेर भिड तितरवितर पार्यो । दुवैतर्फको ढुंगा हानाहानबाट केही घाइते भए । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीको लाठीचार्जबाट पनि सहकारी पीडितहरु घाइते भए । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार गरिएको छ भने केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले सहकारी पीडितहरुले आफ्ना कुराहरु सांसदसमेत रहेका लामिछानेसामु राख्न खोज्दा आफूहरुमाथि कुटपिट र दमन भएको बताए । ‘हामीले शान्तिपूर्ण रुपमा नै भित्र गएर आफ्ना कुराहरु राख्छौं, माग पत्र बुझाउँछौं भनेर आएका थियौं, हामीलाई बजारबाट नै भित्र छिर्न दिइएन, अनेक बाटोबाट कार्यक्रम स्थलको गेटमा आउँदा प्रहरीले लछारपछार बनाएर कुटपिट गर्‍यो,’ दुवाडीले भने, जो पीडित छ उसैलाई कुट्ने ? यो कस्तो अन्याय हो ? हाम्रो पैसा हिनामिना हुने अनि हामीले नै कुटिनुपर्ने ?’

संयोजक दुवाडीले गोर्खा मिडियाको शेयर सदस्य तथा प्रबन्ध निर्देशक भएको नाताले ६५ करोड रकमको १५ प्रतिशतको जिम्मेवारी लामिछानेले लिनुपर्ने आफूहरुको माग रहेको बताए । उनले लामिछानेले जनतालाई भ्रमित बनाउने, पीडितलाई थप पीडित बनाउने काम गरेको बताउँदै चितवनमा एक लाख सहकारी पीडित उनका विरुद्ध आन्दोलन गर्न तयार हुने बताए ।

यता, रास्वपाको चितवन जिल्ला संयोजक कृष्ण भुषालले भने कांग्रेस र एमालेका कार्यकर्ताले कार्यक्रम बिथोल्ने प्रयास गरेको बताए । चितवनमा साहरा सहकारीबाट लामिछाने शेयर सदस्य तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा समेत रकम गएको छ । त्यसैले यहाँका सहकारी पीडितहरुले पनि सांसद लामिछाने जिम्मेवार बन्नुपर्ने बताउँदै आएका छन् ।