अपहरणमा परेका साढे २ वर्षीय बालकको घाँटी रेटेर हत्या
बैशाख २४, काठमाडौं- धनुषाको ढल्केवरमा सोमबार साँझ अपहरणमा परेका शम्भु साहका साढे २ वर्षीय छोरा आर्यन साहको हत्या भएको छ। धनुषाको मिथिला नगरपालिका-६, ढल्केवरबाट सोमबार बेपत्ता भएका थिए।
उनै बेपत्ता आर्यनको शव मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।
आर्यनको शव घर नजिकैको बारीमा फेला परेको छ। शवको प्रकृति निकै दर्दनाक देखिन्छ। आधा घाँटी काटेको अवस्थामा शव फेला परको छ। ‘हामी अहिले मुचुल्का उठाउने काम गर्दैछौं’, प्रहरी निरीक्षक राईले नेपाल लाइभसँग भने, ‘घटनाकाे पूरा अनुसन्धान गरेपछि मात्रै थप भन्न सकिने अवस्था रहन्छ।’
आर्यन सोमबार साँझ हरियो रंगको टिसर्ट लगाएर घरमै खेलिरहेका थिए। उनी खेल्न थालेपछि परिवारका सदस्यले बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए। त्यही बीचमै आर्यन बेपत्ता भएका थिए। बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी सुरु गरेका थिए। पछि बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केबरलाई समेत दिइएकाे थियो।
अपहरणपश्चात् हत्या किन र कसले गर्यो भन्ने केही खुल्न सकेको छैन।