आफैले उत्पादन गरेको खाध्यान्न र कपडासहित अग्नी पीडितको घरदैलोमा नेकपा

सोमबार, १२ कार्तिक २०८१

कालीकोट — आफैले उत्पादन गरेको धान, चामल र लुगासहित नेपाल कम्युनिस्ट पार्टी अग्नी पीडितको दैलोमा पुगेको छ । असोज ३० गतेको आगलागीबाट प्रभावित भएका तिलागुफा–६ जुबिथाका प्रभावित परिवारको घरदैलोमा पुगेर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले खाद्यान्न सामाग्री वितरण गरेको छ ।

पार्टी स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भरत सीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र जुबिथा पुगेर सोमबार पीडित परिवारलाई राहत वितरण गरिएको हो । तिलागुफा–६ का वडाध्यक्ष पर्वलाल शाहीमार्फत आगलागीबाट क्षति व्यहोरेका परिवारलाई सघाउन ‘जहाँ विपद्, त्यहाँ नेकपा’ भन्ने नाराका साथ राहत सामग्री हस्तान्तरण गरेको नेकपा प्रतिनिधि समिति सदस्य डिआर सीले जानकारी दिए ।

रास्कोट–८ भात्तडी जिउलोमा खेती गरेर भित्र्याएको ३ बोरा धान, ५ बोरा चामल, काठमाडौंमा पार्टीले संचालन गरेको गार्मेन्टमा तयार पारिएका कपडासहित केही व्यवसायीबाट जुटाएको राहत सामग्री हस्तान्तरण गरेको उनको भनाई छ ।

पीडित परिवारका अगुवा मनराज शाहीले आपतमा परेका बेला सहयोग उपलब्ध गराएकामा धन्यवाद दिए । जुबिथामा आगलागीमा परेर ३ घर पूर्णरूपमा क्षति हुँदा २६ परिवार प्रभावित भएका छन् ।

त्यस्तै, नेकपाले जिल्ला कारागारमा रहेका कैदिबन्दीलाई सामुहिक रुपमा फलफुल वितरण गरेको छ । भरत सीकै नेतृत्वमा गएको नेकपाको टोलीले कारागारमा भएका सबैलाई भेला गरि फलफुल वितरण गरिएको हो । फलफुल वितरणपछि कारगारका कैदीबन्दीले आफूहरु नेकपाको कामप्रति आक्रषित भएको प्रतिक्रिया दिएका थिए ।