कहाँबाट आयो रविको खातामा ५० करोड ? प्रहरीले गर्दैछ अनुसन्धान

बुधबार, १४ कार्तिक २०८१

काठमाडौँ -पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आर्थिक कारोबारका विवरण देखेर अनुसन्धानमा खटिएका प्रहरी र सरकारी वकिल नै छक्क परिरहेका छन् । उनले पछिल्ला दस वर्षको अवधिमा कम्तीमा ५० करोड रुपैयाँबरबारको शंकास्पद कारोबार गरेको पाइएको छ ।

सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि हिरासतमा लिइए पनि उनको खास मुद्दाचाहिँ सम्पत्ति शुद्धीकरण हुने भएको छ ।

उनले नेपालबाट अमेरिका रकम पठाएकोदेखि स्रोत नै नखुलेको रकमको ठूल्ठूलो कारोबार नेपालमै पनि गरेको पाइएको छ । त्यसैले उनलाई कम्तीमा ९० दिन हिरासतमा राखे पनि अपुग हुने भएकाले कसरी अनुसन्धान सक्ने भनेर टाउको दुखाइ भइरहेको अनुसन्धानमा संलग्न एक अधिकारीहरुले बताएका छन् ।

सहकारी ठगी र संगठित अपराधअन्तर्गत बुटवलको सुप्रिम र चितवनको सहारापछि अब वीरगन्जको सानो पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान पनि प्रहरीले अगाडि बढाउँदै छ । देशका प्रमुख सहरहरूमा खोलिएका जीबी राई नेतृत्वका पाँच सहकारीबाट रवि लामिछाने सेयरधनी तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रूपैयाँ गैरकानुनीरूपमा परिचालन भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले नै देखाएको छ ।