कारागारबाट रविले भने, ‘गगन थापाको राजनीति जोगाउन मलाई ‘बलिको बोका’ बनाइयो’

बिहिबार, १५ कार्तिक २०८१

काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुई सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा मुद्दा चलाउने तयारीका साथ प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा अनुसन्धान गरिरहेको प्रहरीले बुटवलको सुप्रिम सहकारी घोटालामा पनि अनुसन्धान अघि बढाउन अदालतबाट अनुमति पाइसकेको छ । सूर्यदर्शनसँगै चितवनको सहारा, वीरगन्जको सानो पाइला र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा गएको रकम प्रवन्ध निर्देशकको हैसियतमा परिचालन गरेका उनी उम्किने सम्भावना कम देखिन्छ ।

तर, भिआइपी सुविधासहित प्रहरी हिरासतमा रहेका लामिछानेले भेट्न जानेहरुलाई आफू छिट्टै छुट्नेमा ढुक्क रहन सन्देश दिने गरेका छन् । प्रहरीले पूर्वगृहमन्त्री तथा सांसदको हैसियतमा उनलाई अन्य थुनुवासँगै राखेको छैन । हिरासतको तेस्रो तलामा लामिछानेलाई एक्लै बस्ने प्रवन्ध मिलाइएको छ । दुई दिनअघि एसपी कार्यालयमा पुगेर उनलाई भेटेका कास्कीका एकजना जनप्रतिनिधिले अदालतबाट ुक्लिन चिटु पाउनेमा लामिछाने अचम्मैको आत्मविश्वासी देखिएको जनआस्थालाई बताए ।

यसपटक शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जस्तो भीडको बलमा लामिछाने छुट्ने सम्भावना नरहेपछि सडक प्रदर्शनमा रहेको रास्वपाले सरकारसँग संवाद अघि बढाएको छ । ग्यालेक्सी टेलिभजनको प्रवन्ध निर्देशकको हैसियतमा त्यहाँ भएको आर्थिक परिचालनको जिम्मेवारी लिने प्रतिवद्धता जनाउँदा जनाउँदै राजनीतिक प्रतिशोध साँधेर सहकारी ठगी र संगठित अपराधको मुद्दा लगाउन खोजिएको उनको दाबी रहँदै आएको छ । अदालत परिसरमै उनले प्रधानमन्त्री केपी ओलीप्रति चर्को आक्रोश जनाएका थिए ।

‘ग्यालेक्सीमा कमजोरी भएको सन्दर्भमा छलफल गर्न सकिन्थ्यो, तर अहिले जे गरिएको छ यो त पूर्वाग्रह हो’, केपी ओलीप्रति असन्तुष्टि जनाउँदै लामिछानेले भन्ने गरेका छन्, ‘स्वार्थ कता के मिलाउनुपर्ने हो त्यो उहाँको आन्तरिक कुरा होला तर ममाथि अन्याय गरेको त सत्ताले हो नि !’

कांग्रेस महामन्त्री गगन थापाको राजनीति जोगाउन प्रधानमन्त्री ओलीले आफूलाई ‘बलिको बोका बनाएको’ उनको भनाईको आशय आफूले बुझेको ती जनप्रतिनिधिले बताए । ‘यस्तै हो, नआत्तिनुस्’ भनेर सान्त्वना दिनेहरुलाई लामिछानेले भन्ने गरेका छन्, ‘केही छैन, मलाई पनि यो विषय आखिर टुंग्याउनु नै थियो । टुंगियोस् भन्ने हिसाबले नर्मल नै लिएको छु ।’