सत्ता गठबन्धनको बैठकमा देउवाले भने, ‘रवि खतरनाक मान्छे हो, धेरै झूठ बोल्छ’
काठमाडौं – कात्तिक ९ गते शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले रवि खतरनाक मान्छेभएको बताएका थिए । सोही बैठकमा उनले रवि धेरै झूठ बोल्ने मान्छे भएकोसमेत बताएका थिए ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि उत्पन्न परिस्थितिबारे साझा धारणा बनाउन कात्तिक ९ गते शुक्रबार बसेको बैठकमा देउवाको दह्रो साथ पाएपछि हौसिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘सहकारी पीडितले पोखराबाट लखेटिसके, अब यहाँ अलिअलि हल्ला गर्छन् । तर, सरकार कानुनको पालना गराउनबाट पछि हट्दैन ।’
त्यस क्रममा तपाईंले नै पुल्पुल्याएर त्यस्तो भएको त हो नि ? भन्ने प्रश्न उठ्दा ओलीले आफ्नो बचाऊ गर्दै लैनो बाच्छोको कथासँग जोडेर रवि लामिछाने प्रवृत्ति घातक रहेको बताएका थिए । उखान जोड्दै ओलीले भनेका थिए, ‘शुरुमा अलिअलि उफ्रिँदा मायाले यसो सुम्सुम्याई दिएको, मात्तिएर डिलमा पुगेको थाहै पाएन । फेरि उफ्रिँदा भीरमा खस्यो ।’
बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको पनि चर्कै आलोचना भएको थियो । प्रचण्डलाई सबैभन्दा झूठ बोल्ने मान्छे भन्दै ओलीले सरकार छोड्न परेको तोडमा अराजकता मच्चाउँदै हिँडेको आरोप लगाउँदा देउवा भने मौन बसेका थिए । त्यसपछि प्रधानमन्त्रीले थपे, ‘बंगलादेशजस्तो बनाउने भन्दै हिँडेका छन्, बनाए हाम्लाई के हुन्छ र, १७ हजार हामीले मारेको हैन !’
प्रधानमन्त्री ओली, देउवा र गृहमन्त्रीमात्रै बोलेको बैठकमा सत्ता गठबन्धनमा आवद्ध सबै दलका नेता सहभागी थिए । प्रधानमन्त्रीद्वारा रविको पक्षमा स्टाटस लेखेवापत अघिल्लो दिनको बैठकमै केरकारमा परेका सिके राउतले मुख खोलेनन् । उनलाई सत्ता पक्षमा हो कि विपक्षमा कित्ता प्रष्ट गर्न भनिएको थियो । प्रचण्डले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएकोमा प्रष्टीकरण दिएका महन्थ ठाकुर र रञ्जिता श्रेष्ठ पनि चुपचाप बसे ।
बैठक स्रोतका अनुसार साझा धारणा सार्वजनिक गर्नुअघि राउततर्फ संकेत गर्दै सत्ता पक्षमा बसेर प्रतिपक्षको भाषा नबोल्न र राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्ने भ्रम नछर्न घुमाउरो चेतावनीसमेत दिइयो । गृहमन्त्री लेखकले जनतालाई ठगेको कुरालाई राजनीतिक प्रतिशोध भन्नु गलत हुने बताएका थिए ।