रवि लामिछानेलाई अदालत लगियो
काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कमा उपस्थित गराईएको छ । उनीसहित छविलाल जोशी, जीवी राईसँग जोडिएका लीला पछाइ र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालत उपस्थित गराएको हो ।
लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएको हो। सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिएको हो। कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थपिएको थियो । थपिएको म्याद कात्तिक १४ गते बुधवार सकियो । तर कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु भएकाले अदालत बन्द हुँदा उनको तिहार कास्की प्रहरीको हिरासतमै बितेको छ ।
पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरेको हो।
सीआईबीको अनुसन्धान टोलीलाई साथमै लिएर लामिछानेका आफन्तका कारोबार तथा विदेश रकम पठाएको तथ्यसमेत खोजी गर्ने काम भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएकोमा साढे पाँच करोड गोरखा मिडियामा गएको देखिएको छ भने एक करोड लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिएको छ ।