प्रधानन्यायाधीशको घर पूजामा प्रधानमन्त्री पुगेपछि हंगामा

मंगलबार, २० कार्तिक २०८१

काठमाडौँ – भारतका प्रधान न्यायाधीश धनञ्जय यशवंत चन्द्रचुडले घरको पूजामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपुगेपछि हङ्गामा भएको छ।

११ सेप्टेम्बरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रधान न्यायाधीश चन्द्रचुडको घरमा एउटा पूजासम्बन्धी कार्यक्रममा सहभागी भएका थिए । यो कुरालाई लिएर प्रतिष्ठित कानुन व्यवसायी, राजनीतिक दल र नेताहरूले आलोचना गरेका छन् ।

भारतीय प्रधान न्यायाधीश चन्द्रचुडले प्रधानमन्त्रीलाई कुनै सम्झौता गर्न नबोलाएको भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह गरेका छन् । कतिपयले विपक्षी दलका नेतालाई पनि यसैगरी बोलाइन्छ त भनेर समेत प्रश्न गरेका थिए ।

तिनै प्रश्नप्रति लक्षित रहँदै चन्द्रचुडले यो कुनै नियुक्तिका लागि वा कुनै सिफारिसका लागि बैठक नभएकाले विपक्षी दलको नेता पनि बोलाउनुपर्ने भन्ने तर्क गलत रहेको जिकिर गरे ।

प्रधानमन्त्री मोदीको भ्रमण एक निजी भ्रमण भएको तर्क गर्दै उनले कुनै सार्वजनिक कार्यक्रम नभएकाले आलोचना गर्नुको अर्थ नहुने प्रस्ट पारे । उनले न्यायपालिका र कार्यपालिका बिच सामान्य भेट भएको र यो सामाजिक स्तरमा हुनै नहुने भन्ने नभएको दाबी गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी त्यहाँका प्रधान न्यायाधीशको घर गएको विषयलाई लिएर भारतमा विवाद सिर्जना भएको थियो । भारतको संविधानमा कार्यपालिका, विधायिका र न्यायपालिका अलग अलग र स्वतन्त्र भनिएकाले यसरी हुने भेटले त्यसमा के असर पर्छ भन्ने कुरा नेतृत्वले ख्याल गर्नुपर्ने टिप्पणी वरिष्ठ अधिवक्ताहरूले गरेका छन् ।