दिपक मनाङेको सांसद पद खारेज हुने, मनाङ प्रदेशसभा २ मा उपनिर्वाचन
काठमाडौं – गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) दोषी ठहर भएपछि मनाङ प्रदेशसभा–२ मा उपनिर्वाचन हुने भएको छ । सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि गण्डकी प्रदेशसभाका सांसद मनाङे पदमुक्त हुने अवस्थामा पुगेका छन् ।
सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको १२ वर्ष पुरानो फैसलालाई मंगलबार सदर गरेसँगै उनको सांसदपथ संकटमा परेको हो । सर्वोच्च अदालतको फैसलासँगै प्रहरीले सांसद मनाङेलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि कारागारमा पठाउने बाटो खुलेको छ । पाँच वर्ष कैद सजाय तोकिएका मनाङे दुई वर्ष ८ महिना कैद बसिसकेका छन् । उनले थप दुई वर्ष ४ महिना कैद सजाय भोग्न बाँकी छ ।
झुटो विवरण बुझाएर निर्वाचित भएकाले उनको पद खारेज हुनुपर्ने माग सहितको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ । मनाङे विरुद्धको मुद्दाको फैसला अन्तिम भएको, दोषी ठहर भएका उनी यो प्रदेशसभाको अवधिभर पदमा फर्किने सम्भावना नभएकाले सांसद पद खाली भए मनाङ–२ मा उपनिर्वाचन हुने अवस्था आउन सक्छ ।
निर्वाचन आयोगमा बसेर काम गरिसकेका पूर्व उपन्यायाधिवक्ता गुरु वाग्ले फैसला अन्तिम भएको र त्यसका कारण सम्बन्धित सांसद पदमा फर्किने अवस्था नरहेमा उपनिर्वाचन गराउनुपर्ने बताउछन् ।
चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ १३ बैशाख २०६१ मा आफ्ना साथीहरुको साथमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा खाना खाँदै गरेको थिए । त्यही बेला दिपक मनाङे नेतृत्वको टोलीले उनीमाथि खुँडा प्रहार गरेको थियो । १३ बैशाख २०६२ मा उनी पक्राउ परेका थिए ।