बक्यौता भुक्तानी नहुँदै काटिएका उद्योगको लाइन जोड्ने सरकारको निर्णय

सोमबार, २६ कार्तिक २०८१

काठमाडौं – सरकारले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’को विद्युत प्रयोग गरेबापत तिर्नुपर्ने वक्यौता रकम झुक्तानी नगरेरै लाइन काटिएका उद्योगको लाइन जोड्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले आज मध्यान्ह १२ बजेभित्र लाइन जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले उद्योगीको काटिएको लाइन सोमबार १२ बजे भित्रमा जडान गर्ने निर्णय गरेको छ भने १५ दिनमा टिओडी मिटरको बिल बमोजिम उद्योगीसँग बक्यौता रकम अशुल गर्ने निर्णयसमेत गरेको एक मन्त्रीले बताए ।

साथै, बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । नेपाल विद्युत् प्राधिकरण र उद्योगी–व्यवसायीबीच लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी विवाद समाधान गर्न बनेको पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वको आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।

प्रतिवेदन कार्यान्वयनका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पठाउनेसमेत निर्णय भएको छ ।