बयानका लागि बुटवल लैजान लागेका रवि लामिछाने चार घन्टादेखि पोखरा एयरपोर्टमै

मंगलबार, २७ कार्तिक २०८१

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवल ल्याउने भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

लामिछानेलाई भैरहवा ल्याउनका लागि लागि कास्की प्रहरीले उनलाई पोखरा विमानस्थल पुर्‍याएको छ । तर प्रतिकुल मौसमका कारण उडान भने हुन सकेको छैन । विहान ६ बजेतिरै उनलाई विमानस्थल लगिए पनि उडान हुन नसकेको हो ।

बुध्द एयरको बिहान साढे सात बजेको उडानबाट लामिछानेलाई भैरहवा विमानस्थल लैजाने कार्यक्रम थियो । त्यसका लागि लामिछानेलाई विमानस्थलमा लगिएको हो । विमानस्थलको मौसम प्रतिकुल रहेको र कुहिरो लागेकाले उडान ढिला भएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका हुन् ।

लामिछानेलाई बुटवल ल्याउने भएसँगै रास्वपाले बुटवल केन्द्रित आन्दोलन गर्ने भएको छ । मंगलबार(आज) विहान साढे ११ बजे लुम्बिनी गेट भैरहवामा रास्वपाले ऐक्यबद्धताका लागि उपस्थित हुन आग्रह गरेको छ ।