रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्द नै पर्यो उजुरी
काठमाडौँ – कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरी विरुद्ध मानवअधिकार आयोगमा उजुरी दिइएको छ । रास्वपा नेता समेत रहेका उत्तमप्रसाद पौडेलले पोखराको मानवअधिकार आयोगमा उजुरी दिएका हुन् । कात्तिक ३ गतेदेखि लामिछाने कास्की प्रहरी हिरासतमा छन् ।
‘प्रहरीले हिरासतमा रहेकालाई भेट्न बिहान ७ देखि ९ र अपराह्न ३ देखि ५ बजेसम्मको समय छुट्टाएको छ। सो समयमा म सभापति लामिछानेलाई भेट्न गएको थिएँ,’ उनले उजुरीमा लेखेका छन्, ‘तर, प्रक्रिया पूरा गरिसकेपछि ड्युटीमा रहेका प्रहरीले माथिको आदेश भन्दै भेट्न नदिएकोले के कति कारणले अवरोध गरिएको हो भन्नेबारे प्रश्न गर्दा जवाफ पनि नपाएकाले त्यसबारे आयोगको ध्यानाकर्षण गराउँदछु ।’
उनले कास्की प्रहरी प्रमुख सहित केही प्रहरी अधिकारीलाई सचेत गराइदिन माग गरेका छन् । ‘प्रहरी उपरीक्षक श्याम ओलीया, प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्मा, प्रहरी निरीक्षक अविनाश जिसीलाई सचेत गराइदिनुहुन अनुरोध गर्दछु,’ उनले भने ।
पौडेलले निर्दोष व्यक्तिलाई फसाउन लागिएको भन्दै आयोगको ध्यानाकर्षण गराए ।