एक्लै लड्ने घोषणा गरेका कांग्रेस–एमालेको चार पदमा चुनावी तालमेल
काठमाडौँ – एक्लाएक्लै चुनाव लड्ने घोषणा गरेका नेकपा एमाले र नेपाली कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका केही पदमा घोषित रूपमै ‘तालमेल’ गरेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकेको थियो । उम्मेदवारी दर्ता गर्ने क्रममै कांग्रेस र एमालेले दुई जिल्ला समन्वय समिति, एक पालिका उपाध्यक्ष र एक वडाध्यक्षमा एक अर्कालाई सघाउने गरी उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्रको गढ मानिने रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र सोही पालिकाको वडा नम्बर २ मा कांग्रेसले उम्मेदवार खडा गरेको छैन । जबकि उपाध्यक्षका उम्मेदवार एमालेकै भए पनि कांग्रेसको चुनाव चिह्न लिएकी छन् । उपाध्यक्ष पदमा कांग्रेसले उम्मेदवार नउठाउने सहमति अनुसार कांग्रेसको निर्वाचन चिह्न र एमालेको उम्मेदवार उठाइएको हो ।यो पालिकाको २ नम्बर वडाध्यक्षमा एमालेका उम्मेदवार एमालेकै चुनाव चिह्न ‘सूर्य’बाट चुनाव लड्दैछन् । वडा अध्यक्षमा पनि कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर एमालेलाई सहयोगको नीति लिएको हो ।
यो पालिकाको उपाध्यक्ष पदमा एमालेले जिल्ला उपसचिव केशकुमारी तुलाचनलाई उम्मेदवार बनाएर रुख चिह्नबाट चुनाव लडाएको हो । पुथा उत्तरगंगाको वडा नम्बर २ का वडाध्यक्ष पदमा एमालेका जीवन रोका उम्मेदवार बनेका छन् । उनी सूर्य चिह्नबाट चुनाव लड्दैछन् ।
वडामा कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर एमालेलाई सघाउने नीति लिएको हो ।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कांग्रेस र एमालेबिच एक्लाएक्लै चुनाव लड्ने केन्द्रीय नीति भए पनि स्थानीयस्तरमा एकअर्कामा सहयोग हुनु सामान्य भएको बताएका छन् । ओखलढुंगा र कैलाली जिसस प्रमुखमा कांग्रेसले जित्ने प्रस्ट मत रहेकाले एमालेले उम्मेदवार नउठाएको गौतमको भनाइ छ ।