डाक्टरले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
काठमाडौं – चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट उठेका छन् । भारतको पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालले मृत घोषणा गरेका २५ वर्षीय रोहिताश कुमार चिताबाट विउझिएका हुन् ।
बोल्न र सुन्न नसक्ने रोहिताश बिहीबार बिरामी परेपछि उपचारका निम्ति अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । तर, मृत घोषणा गरिएका रोहिताशलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको चिकित्सा अधिकारीहरूले बताएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, रोहिताश बिरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर, उनको उपचार नगरीकनै मृत घोषणा गरिएको थियो । र, उनलाई मृतकहरू राख्ने कक्षमा पठाइयो । परिवारजनले उनको हिन्दु संस्कारअनुसार अन्त्येष्टिको तयारी गरे ।
भारतीय सञ्चारमाध्यमका अनुसार, वास्तवमा उनलाई छारेरोग ९मिर्गी०को समस्या देखिएको रहेछ । अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, “एकजना चिकित्सकले पोस्टमार्टम नगरी पोस्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ ।”
“चिता जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरले हलचल सुरु भएपछि मलामीका रूपमा गएका मानिसहरूले उनी जीवित रहेको र सास फेरिरहेको पाएपछि उनलाई पुनः अस्पताल लगिएको थियो,” सिंहले भने ।
रोहिताशलाई दोस्रोपटक अस्पताल लगिएको र उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि भएको थियो । अधिकारीहरूले अस्पतालको सेवा केही समयका निम्ति बन्द गरिएको जनाएका छन् । एएफपी