सुनसरीमा पनि नेकपा एसले माओवादी उमेदवारलाई सघाउने
काठमाडों – नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने उपनिर्वाचनमा सुनसरीमा पनि माओवादी केन्द्रलाई सघाउने भएको छ । जिल्ला अध्यक्ष गोविन्द निरौला एक विज्ञप्ति जारी गर्दै गढी गाउँपालिका ६ को वडाध्यक्ष पदको लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एसले माओवादीलाई सघाउने जानकारी दिएका छन् ।
त्यहाँ नेकपा एसले डोमी उराँव झागडलाई उम्मेदवार बनाएको थियो। तर, अहिले अध्यक्षले विज्ञप्ति जारी गर्दै झागडको उम्मेदवारी निष्क्रिय बनाएर माओवादीलाई भोट हाल्ने निर्णय पार्टी पंक्तिलाई जानकारी गराएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको तर्फबाट उम्मेदवारी दर्ती भएको भएता पनि केही अनपेक्षीत प्राविधिक कारणबाट हाम्रो पार्टीको उम्मेदवारी कायम रहिरहन सकेन । यस अवस्थामा सो वडामा रहेका हाम्रो पार्टीका तमाम शुभेच्छुक, पार्टी सदस्य सम्पूर्ण मतदाता लगायत सवै वडावासी दाजुभाई तथा दिदीवहिनीहरूलाई कुनै प्रकारको भ्रमको पछाडि नलागि हाम्रो समाजवादी मोर्चामा आवद्व हाम्रो मित्र राजनितीक दल माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहनुभएका कुशेश्वर खेरवारलाई गोलाकार भित्रको हँसिया हतौडा अंकित चुनाव चिन्हमा आफनो अमूल्य मतदान गरी अत्याधिक वहुमतले विजय गराउने महाअभियानमा सहभागी भईदिनु हुन हार्दिक आव्हान गर्दछौँ ।’
नेकपा एसले काठमाडौैंको कीर्तिपूरको मेयरका लागि पनि माओवादीलाई छाडेको थियो ।