सर्वाधिक चर्चामा रहेको फिल्म पूर्णबहादुरको सारंगीलाई धक्का

मंगलबार, ११ मंसिर २०८१

काठमाडौं – यतिबेला चौथो सातामा प्रदर्शन भईरहेको नेपाली चलचित्र पूर्णबहादुरको सारँगीले ब्यबसायिक रुपमा ऐतिहाँसिक रेकर्ड बनाएको छ । अहिलेसम्मकै सर्वाधिक हिट भईरहेको चलचित्र पूर्णबहादुरको सारँगीबिरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय, दरवारमार्गमा कथा चोरी सम्बन्धि उजुरी परेको छ ।

चलचित्र निर्माता तथा कलाकार अजित लामिछानेले आफ्नो चलचित्र ‘लाज’को कथा र केही प्लटहरु लिएर चलचित्र पूर्णबहादुरको सारँगी बनाएको भन्दै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका हुन् ।

चलचित्र लाजका लेखक पनि अजित लामिछाने नै हुन् । अजितकै लेखनमा यस अघि लघु चलचित्र लाज निर्माण भएको थियो । चलचित्र लाज विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सबमा प्रदर्शन भईसकेको छ । जसमा अजित आफैंले कलाकारको रुपमा समेत काम गरेका थिए । सोही कथालाई परिमार्जन गरेर कथानक चलचित्र लाज निर्माण गर्नको लागि आफुले पूर्णबहादुरको सारँगीका निर्माता एवम् बाँसुरी फिल्मस्का अध्यक्ष रामबाबु गुरुङलाई लाजको स्कृप्ट दुई वर्ष अघि पठाएको लामिछानेले बताएका छन् ।

आफुले चलचित्र लाजको कथा दुई वर्ष अघि पूर्र्णबहादुरको सारँगीका निर्देशक सरोज पौडेललाई पनि सुनाएको कलाकार तथा लेखक लामिछानेले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दिएको उजुरीमा जिकिर गरेका छन् । तर यतिबेला चलचित्र पूर्र्णबहादुरको सारँगी हेरेपछि आफ्नो चलचित्र लाजको कथा र प्लट चोरिएको जानकारी पाएको लेखक तथा कलाकार अजित लामिछानेले उजुरीमा उल्लेख गरेका छन् । लेखक लामिछानेका अनुसार उनले चलचित्र लाजको स्कृप्ट निर्माता एवम् निर्देशक रामबाबु गुरुङलाई पनि दिएका थिए ।