देशलाई सराप्दै विदेशीनेका लागि गतिलो झापड बनिन् सुर्खेतकी तुलसीकुमारी

मंगलबार, ११ मंसिर २०८१

सुर्खेत – देशलाई सराप्दै विदेशी युवाहरुका लागि सुर्खेतकी ३२ वर्षीया तुलसीकुमारी ओली गलितो झापड बनेकी छिन् । बराहताल – २, सुर्खेतकी ओली महिला गाडी चालकको रुपमा परिचित छन् । सात वर्षअघि श्रीमान सम्पर्कविहीन भएपछि परिवारको आर्थिक जिम्मेवारी पूरा गर्न गाडीको चालकका रुपमा काम गर्न बाध्य छिन् ।

तीन छोरीको शिक्षादीक्षासँगै परिवारको जीविकोपार्जन गर्नुपर्ने बाध्यताले उनलाई गाडीको स्टेयरिङ सीटमा ल्यायो ।

श्रीमान भारतको कुल्लु जान्छु भनेर हिँडेको सात वर्ष भइसक्यो । उनी आजसम्म सम्पर्कमा आएका छैनन् । तुलसीले माइतमा बसेर छोरीहरूको लालनपालन गर्न अनेक संघर्ष गरिन् । खेतीपाती, मजदुरी र बाटो बनाउने रोजगार कार्यक्रममा काम गर्दै दैनिक गुजारा टारिरहेकी उनले दिदी(भिनाजुको सुझावमा गाडी चलाउन सिकिन् ।

‘विदेश जाने आँट आएको थियो, तर भिनाजुले स्वदेशमै केही सीप सिक्न सल्लाह दिनुभयो । त्यही सल्लाहले मेरो हातमा गाडीको स्टेयरिङ पर्‍यो, जसले जीवन बदलियो’, उनी भन्छिन् ।

तुलसीले वीरेन्द्रनगरको रंगशालामा गाडी चलाउन सिकिन् । भिनाजुको गाडी चलाउन थालेको एक वर्ष भयो । आजभोलि उनी बराहतालदेखि वीरेन्द्रनगर र आसपासका स्थानमा यात्रु ओसारपसार गर्छिन् ।

‘सुरूमा समाजले मलाई स्वीकार्न गाह्रो मान्यो’, उनी सम्झिन्छिन्, ‘गाडी चढ्न मान्नेलाई डर लाग्थ्यो, तर समयसँगै सबैको सोच बदलिएको छ । अहिले यात्रुले खुलेर प्रशंसा गर्नुहुन्छ ।’ उनको गाडीमा चढ्ने धेरैजसोले महिला चालकको हिम्मत र आत्मविश्वासको सराहना गर्छन् । ‘सुरूमा मेरो पनि मनोबल कमजोर थियो’, उनी भन्छिन्, ‘तर यात्रुले हौसला दिन थालेपछि ढुक्क भएर काम गर्न थालें । अहिले मलाई कर्णालीका अप्ठेरा बाटोहरू पनि सजिलै पार गर्ने आत्मविश्वास छ ।’

गाडीको स्टेयरिङ समाउँदै उनले जीवनसँगै बाटोका अनेक मोड पार गरिसकेकी छन् । तुलसीकुमारीले गाडी चलाएर मासिक २० हजार रुपैयाँ कमाउँछिन् । यही आम्दानीबाट उनले तीन छोरीको पढाइ र लालनपालन गर्दै आएकी छन् । उनका १२, १० र ७ वर्षका छोरीहरू क्रमशः सात, छ र दुई कक्षामा पढ्छन् ।

‘यो पेशा अंगाल्नुअघि मैले ज्यामी, मजदुरी सबै गरें, तर अब छोरीहरूको भविष्य राम्रो बनाउने जिम्मेवारीबाट पछि हट्दिनँ’, उनी भन्छिन् ।

कर्णाली जस्तो परम्परागत सोच भएका ठाउँमा तुलसीकुमारीको कामले महिलाहरूलाई सशक्त बन्ने प्रेरणा दिएको छ । ‘पहिले महिलाले गाडी चलाएको देख्दा धेरैले अचम्म मान्नुहुन्थ्यो । अहिले उहाँहरूले मलाई समर्थन र प्रशंसा गर्नुभएको छ’, उनी भन्छिन्, ‘यसले अन्य महिलाहरूलाई पनि काममा लाग्न हौसला दिएको छ । अब महिलाले श्रीमानको भर पर्नुपर्ने दिन सकिएको छ ।’

गाडी चलाउनु महिलाका लागि असम्भव काम भन्ने सोचलाई तोड्दै उनले देखाएको बाटोले अन्य महिलाहरूलाई पनि अगाडि बढ्न उत्साहित बनाएको छ । ‘हामीले आँट गरेपछि केही पनि असम्भव छैन । सबैले साथ दिए महिलाहरूले ठूलो परिवर्तन ल्याउन सक्छन्’, उनी विश्वासपूर्वक भन्छिन्, ‘छोरी मान्छेले पनि छोरासरह सबै काम गर्न सक्छन् ।’ नेपाल प्रेसका लागि अप्सरा विष्टले तयार पारेको सामाग्री हामीले नेपाल प्रेसबाट साभार गरेका हौँ ।