रवि लामिछानेलाई काठमाडौँ नल्याउनुको कारण खुल्यो

मंगलबार, ११ मंसिर २०८१

 

काठमाडौँ – सहकारी ठगीमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी अन्तिममा स्थगित भएको छ।

नेपाल प्रहरी स्रोतका अनुसार आन्तरिक तयारी नपुगेका कारण उनलाई नल्याइएको र अब केही दिनमा ल्याएर बयान लिइने छ। एक जना प्रहरी अधिकृतले भने, ‘आन्तरिक तयारी नसकिएकाले आज नल्याइएको हो, तयारी सकिएपछि ल्याएर बयान लिइन्छ, अब एक दुई दिन लाग्ला।’

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याउन लागिएको हो। काठमाडौँ जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

लामिछानेको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ। स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको आरोपमा गोर्खा मिडियाका पूर्वसञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। जोशीको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बयान लिएर पठाइसकिएको छ।