रविलाई भेट्न आउनेहरु घटे, यसरी कटाउँछन् दिन
पोखरा– कास्की प्रहरीको हिरासतमा रहेको पूर्वगृहमन्त्री रवि लामिछानेलाई भेट्न आउनेको संख्या घटेको छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार रविलाई भेट्न आउनेको संख्या निकै घटेको हो ।
सहकारी ठगीको आरोपमा ३९ दिनदेखि जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतको दोस्रो तलाको सिंगै कोठामा छन् । प्रहरी स्रोतका अनुसार उनलाई पत्रपत्रिका पढ्ने सुविधा दिइएको छ। यस्तै, हिरासतमा रहेकाहरूका लागि खोलिएको पुस्तकालयबाट किताब पनि उपलब्ध गराइएको छ।
लामिछानेलाई उनको दल रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले गत कात्तिकको मध्यतिर एउटा किताब उपहार दिएका थिए। वाग्लेले सामाजिक सञ्जालमा पोस्ट गरेको विवरण अनुसार उनले लामिछानेलाई पत्रकार, लेखक एवम् विश्लेषक फरिद जकारियाको पुस्तक एज अफ रेभोलुसन्स दिएका थिए।
हिरासतबाटै दुई–तीन दिनको अन्तरालमा परिवारलाई फोन गर्ने सुविधा पनि लामिछानेले पाइरहेका छन्। “यस्तो सुविधा अन्य थुनुवाले आकस्मिक अवस्थामा बाहेक पाउँदैनन्,” कास्कीका एक प्रहरी अधिकृत भन्छन्।
शुरूशुरूमा लामिछानेलाई भेट्न आउने पार्टीपंक्तिका मानिस धेरै हुन्थे। तर अहिले यस्तो क्रम लगभग टुटिसकेको छ। “भेट्न आउने मानिस खासै हुँदैनन्,” ती प्रहरी अधिकृत भन्छन्, “त्यसैले पनि उनी पढेरै दिन कटाउँछन्। भेट्न आउनेहरूलाई पुस्तक ल्याइदिन भन्छन्।”