जीबी राई मात्र होइन उनका आफन्तलाई समेत समाउँदैन प्रहरी
काठमाडौं – प्रहरीको फरार सूचीमा रहेको जीबी (गीतेन्द्रबाबु) राईलाई समात्न नसकेको प्रहरीले सहकारी ठगीमा जोडिएका उनका आफन्तलाई समेत पक्राउ गर्न सकेको छैन् । काठमाडौं उपत्यका र बाहिरका जिल्लामा गरी विभिन्न पाँच वटा सहकारी ठगी प्रकरणमा मुछिएका राईसहित उनका परिवारलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन सकेको छैन ।
सहकारी ठगी प्रकरणमा उनीसँगै जोडिएका पूर्वगृहमन्त्री रवि लामिछानेदेखि पूर्वडीआईजी छविलाल जोशीसम्म हिरासत रहँदा जीबीको परिवारका ९ सदस्यविरुद्ध कुनै थप कारबाही अघि बढेको छैन।
विभिन्न सहकारी ठगी प्रकरणमा जीबीका साथै उनकी पत्नी भगवती बम्जन (निशा), जेठा दाइ अनन्तबाबु, माइला दाइ देबेन्द्रबाबु, जीबीका ठूलोबुवाका छोरा भुपेन्द्रबाबु, जीबीका काइँला जेठान ज्ञानबहादुर बम्जन तामाङ, साढु भाइ दीपक लामा, जेठान तेजबहादुर बम्जन तामाङ र जीबीका जेठी सासु नन्दाकुमारी बम्जनलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन ।
तेजबहादुर र नन्दाकुमारी क्रमश शिवशिखर सहकारी र क्रमश कल्याण उपकार सहकारी अपचलनमा संलग्न रही फरार व्यक्तिहरु हन् । नन्दाकुमारी कल्याण उपकार सहकारीका अध्यक्ष लिलाबहादुर गुरुङकी पत्नी हुन् । जीबी राईको ससुरालीमा २ वटी आमाका ९ छोरा र ७ छोरी गरी १६ जनाको परिवारमध्ये अधिकांशजसो सहकारीमै आबद्ध थिए । ज्ञानबहादुर बम्जनले बनाएको सहकारीको एउटा नेटवर्कको जिम्मेवारी जीबीले लिएका थिए ।
ज्ञानबहादुर बम्जनले अर्को छुट्टै सहकारी नेटवर्क चलाएका थिए । ब्रिटिस गोर्खा ग्रुपद्धारा प्रबद्र्धित सहकारी भनेर करिब दुई दर्जन सहकारीको नेटवर्क बनेको थियो । नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई बोलाएर सहकारी विभागले २०६६ देखि २०६९ सम्म गरेको करिब १५० सहकारी अनुगमनका क्रममा यो समूहले करिब दुई दर्जन सहकारी चलाएको भेटिएको थियो ।
ती अधिकांश सहकारीमा बचत रकम दुरुपयोग भएको त्यतिबेलाकै अनुगमन प्रतिवेदनमा उल्लेख छ । पाँचवटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी र उनको सिंगो परिवारलाई पक्राउ नगरेको भन्ने आरोप लगाउँदै आएको कांग्रेस नै अहिले सरकारमा छ । सोही पार्टीका नेता लेखक अहिले गृहमन्त्री छन् । तर अहिलेसम्म सहकारी ठगीको केन्द्रमा रहेका व्यक्ति जीबी र उनको परिवार भने पक्राउ पर्न सकेका छैनन् ।