तीन बुँदे सहमति पालन नगर्ने हो भने हामी नयाँ तरिकाले सोच्छौँ : विप्लव
काठमाडौ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले तीन बुँदे सहमति कार्यान्वयन गर्ने वा नगर्ने भन्नेबारे सरकारले मुख खोल्नुपर्ने बताएका छन् । बिहीवार पोखरामा नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशको कार्यालय उद्घाटन गर्दै महासचिव विप्लवले सहमति पालना इमानदारीतापूर्वक नगर्ने हो भने आफूहरुले नयाँ ढङ्गले सोच्नुपर्ने बेला आउन सक्ने बताए ।
‘तीन बुँदे लागु गर्ने हो कि होइन, छिटो बोल्नुहोस, राज्य इमानदार छ र जनताका कुरा सुन्न चाहन्छ भने छिटो बोल्नुहोस’, सरकारलाई चेतावनी दिदै बिप्लवले भने, ‘होइन भने हामीले नयाँ ढङ्गले सोच्नुपर्ने बेला आउन सक्छ किनकि हामी घाटीमा तरबार झुण्ड्याएर बिबसतापूर्वक बाँच्ने मान्छे होइनौं ।’ महासचिव विप्लवले आफूहरुले उठाउदै आएका कुराहरू कुनै व्यक्ति विशेष वा पार्टी विशेषका कुराहरू नभएको बताउँदै बरु देश, श्रमजीवी जनता, मजदुर, किसान, जातजाति र उत्पीडित जनताका मुद्दामा लडिरहेकोले सरकारले बहानाबाजी र छलछाम गर्न जरुरी नरहेको बताए।
तत्कालीन ओली सरकारले नेपाल कम्युनिस्ट पार्टी माथी प्रतिबन्ध लगायको बेला आस्थाका आधारमा लगाइएका मुद्दाहरु खारेज नभएको, बन्दीहरूको रिहाई प्रक्रिया अझै पूरा नभएको र १५ जना नेताकार्यकर्ता जेलमा रहेको तथा केहि दिन अघि थप २ जना कार्यकर्तालाई पक्राउ गरिएको बिषय गम्भीर भएको भन्दै महासचिव विप्लवले तीन बुदे सहमतिको कार्यान्वयनमा राज्य इमानदार हुन अपीलसमेत गरेका छन ।
केहि दिनअघि प्रवक्ता प्रकाण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र शेरबहादुर देउवासङ्ग भेटवार्ता गरेर पोखरा पुगेका पिप्लवले प्रधानमन्त्रीको चीन भ्रमणपछि सहमति कार्यान्वयनबारे बिस्तृत रूपमा छलफल गर्ने योजना रहेको उल्लेख गरेका छन् । त्यस्तै मन्तव्यको क्रममा उनले समाजमा कम्युनिस्ट पार्टी र क्रान्ति किन आवश्यक छ भन्ने बारे चर्चा गर्दै अहिले पनि समाजमा श्रम गरेर खाने जनताहरु पीडित र अपमानित हुनुपर्ने र सत्ता कब्जा गरेर बसेको एउटा निश्चित बर्गको हालीमुहाली चलिरहेकोले यसलाई बदल्न कम्युनिस्ट पार्टी जरुरी रहेको बताए।
कम्युनिस्ट पार्टी र क्रान्तिले मात्रै नयाँ सस्कृती र नयाँ सभ्यता निर्माण गर्न सम्भव रहेको र बिश्वमा कहि नभएको जातीय उत्पीडनसमेत नेपालमा भएकोले यसलाई बदल्न कम्युनिस्ट क्रान्ति अपरिहार्य रहेको महासचिव विप्लवको भनाइ थियो।