प्रहरी चौकी प्रमुखले आफ्नै छात्तिमा गरे आफैँ गोली प्रहार

शुक्रबार, १४ मंसिर २०८१

काठमाडौँ – अछाममा प्रहरी सहायक निरीक्षक (असई) ले आफ्नै छातिमा गोली प्रहार गरेका छन्। प्रहरी चौकी भैरवस्थानका प्रमुख समेत रहेका किसनबहादुर चन्दले बिहीबार राति साढे ९ बजेतिर गोली प्रहार गरेका हुन्।

आफैँले बोकेको पेस्तोलबाट छातिको बाँया भागमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताएका छन् ।

घटनाको सूचना पाएलगतै डीएसपी भण्डारीसहितको टोली घटनास्थलमा पुगेर उनलाई उपचारका लागि सुर्खेततर्फ पठाएका थिए।

राति सवा २ बजेतिर सुर्खेत लगे पनि उनलाई त्यहाँबाट नेपालगन्ज मेडिकल कलेज रिफर गरिएको थियो। शुक्रबार बिहान सवा ७ बजेदेखि असई चन्दको नेपालगञ्ज मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार भइरहेको छ।