सामाजिक सञ्जालमा मनदाग्दी लेख्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने

शुक्रबार, १४ मंसिर २०८१

काठमाडौं – सरकारले सामाजिक सद्भाव र सार्वजनिक शान्ति नै खलबलिने अभिव्यक्ति दिने कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्तिले सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव, सार्वजनिक शान्ति र सुव्यवस्थामै खलल पुर्याउने घृणाजन्य अभिव्यक्ति दिइरहेको भन्दै त्यस्ता कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको हो ।

नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकको उच्च सम्मान व्यक्त गर्दै गृह मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली–बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति र गतिविधि दण्डनीय अपराध रहेको स्मरण गराएको छ ।

‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्न÷नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।