माओवादीसँग एकता गर्न तम्सिएका माधव नेपाललाई झड्का
काठमाडौं- माओवादी केन्द्रसँग पार्टी एकता गर्न तम्सिएका माधव नेपाललाई झड्का लागेको छ। पार्टीका सम्मानित बरिष्ट नेताहरु नै एकताको बिपक्षमा उभिएपछि पार्टी एकता गर्न तम्सिएका नेपाललाई झड्का लागेको हो।
पूर्व प्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालदेखि उपाध्यक्ष जगन्नाथ खतिवडा लगाएतका नेता पार्टी एकताको विपक्षमा उभिएका छन्। महाधिवेशनपछि एकीकृत समाजवादीमा निराशा र अन्यौलताछाएको छ । फलस्वरुप केही प्रभावशाली नेताहरु पुरानै घर अर्थात एमालेमै फर्किने क्रम जारी छ । यी घटनाक्रमबाट निराश भएको अध्यक्ष नेपाल पार्टी एकताको पक्षमा नै छन् ।
तर, पूर्व प्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालदेखि उपाध्यक्ष जगन्नाथ खतिवडा पार्टी एकताको विपक्षमा छन् । सम्मानित नेता खनालले स्थायी कमिटी बैठका आफ्नो प्रतिवेदन पेश गर्दै पार्टी एकतालाई हल्काफुल्का ढङ्गले हेर्न नहुने बताएका छन् ।
उनले भनेका छन्, ‘पार्टी एकीकरण एउटा गहन प्रकृया हो । त्यसलाई हल्काफुल्का ढङ्गले हेर्नु हुँदैन । सम्बन्धित समूहहरू बीच वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक कार्यदिशामा एकरुपता बिना पार्टी एकीकरण सम्भव हुँदैन’ खनालले भनेका छन् ‘तर साझा सवालमा कार्यगत एकता जहिले पनि गर्न सकिन्छ । आजको आवश्यकता सबै वामपन्थीहरूबीच साझा सवालमा कार्यगत एकता गर्नु नै हो । त्यो एकताबाट नै पार्टी एकीकरणको उचाइ तिर क्रमिक रुपले अघि बढ्न सकिन्छ ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि शीर्ष नेताहरुले एकीकृत समाजवादीसँग एकताको पहल भइरहेको बताउँदै आएका छन् । एकीकृत समाजवादीको १०औं महाधिवेशनको उद्घाटन समारोहमै प्रचण्डले पार्टी एकताबारे बोलेका थिए । प्रमुख अतिथि रहेका तत्कालीन प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमै पार्टी एकताको सकेत गरेका थिए ।