नगर प्रहरी लगाएर सडक आतंक मच्चाएको भन्दै फेरि बालेनमाथि खनिए ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सडकमा आतंक मच्चाएको भन्दै असन्तुष्टि जनाएका छन्।
आज ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवस कार्यक्रमको सम्बोधनमा उनले नगर प्रहरीको काम गरिब लखेट्ने नभएको बताए।
काठमाडौं महानगरका मेयर बालेन शाहको निर्देशनमा त्यहाँका नगर प्रहरीले फुटपाथ हटाउने भन्दै सडकका व्यापारीदेखि मकै पोल्न बसेका सर्वसाधारणसम्मलाई आतंकित गरिरहेका छन्। यसैमेसोमा काठमाडौंका नगर प्रहरीले ठेला, साइकल र गाडामा सब्जी, अन्य उपभोग्य सामान बेच्नेलाई लखेट्ने गरेको ठीक नभएको बताए।
तर, ललितपुरमा भने त्यस्तो नभएको प्रधानमन्त्री ओलीको भनाई छ। ‘कम्तीमा ललितपुर नगर प्रहरीले गुर्रर जीपमा कुदेर, अर्कै लोकबाट झरे जस्तो गरेर पिर्रपिर्र सिट्ठी बजाउँदै आतंक मच्चाउँदै, ठेला फाल्दै, गरिबका तरकारी र टमाटर फाल्दै हिँडेको मैले देखेको छैन। नगर प्रहरीलाई धन्यवाद’, उनले भने, ‘नगर प्रहरी आतंकको पर्याय होइन, नगरबासीको रक्षक हुनुपर्छ।’ उनले काठमाडौंमा नगर प्रहरीले सडकमा आतंक मच्चाएकोप्रति असन्तुष्टि दोहोर्याए।