देशकै सबैभन्दा ठुलो भ्रष्टाचार घोटालाका दोषीलाई फाँसी
काठमाडौँ – देशको सबैभन्दा ठुलो भ्रष्टाचार काण्डमा जोडिएका व्यक्तिलाई सरकारले फाँसी दिएको छ । चीनको उत्तरी इनर मंगोलिया स्वायत्त क्षेत्रका पूर्वअधिकारी लि जियानपिङलाई फाँसी दिइएको समाचारमा उल्लेख छ । ली ४२ करोड अमेरिकी डलरभन्दा बढीको भ्रष्टाचार काण्डमा जोडिएका थिए ।
ली चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको कार्यसमितिका सदस्य थिए । उनलाई यसअघि २०२२ को सेप्टेम्बरमा मृत्युदण्डको सजाय सुनाइने तय भएको थियो । तर उक्त सजायविरुद्ध उनले पुनरावेदन गरे ।
पुनरावेदनपछि पनि चीनको सर्वोच्च अदालतले उक्त सजायलाई कायम राखेपछि लीलाई मृत्युदण्ड दिइएको हो । चिनियाँ सञ्चारमाध्यमका अनुसार लीलाई अदालतले ४२ करोड अमेरिकी डलरको अवैध आम्दानी गरेको आरोपमा दोषी ठहर गरेको थियो ।
यसलाई चीनको इतिहासकै सबैभन्दा ठुलो घोटाला भनिएको छ । मंगलबार फाँसी दिनु अघि ६४ वर्षका लिलाई परिवारसँग समय बिताउन दिइएको भन्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले समाचारमा उल्लेख गरेको छ ।